अभिलाष गुप्ता
माघ १६ बिरगंज
आज मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले वीरगञ्ज स्कुल अफ लमा स्थापना गरिएको लेजिस्लेटिव क्लिनिक विधायिका क्लिनिकको उद्घाटन गरेका छन् ।कानुनी शिक्षा, संसदीय अध्ययन तथा नीति अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको विधायिका क्लिनिकले विद्यार्थीहरूलाई व्यवहारिक कानुनी अभ्यास र संसदीय कानुन निर्माण प्रक्रियाको विस्तृत अध्ययन गर्ने अवसर प्रदान गर्ने प्रदेशसभा सदस्य अन्सारीले विश्वास व्यक्त गरेका छन् ।
Advertisement
मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका अन्सारीले कानुनी शिक्षाको व्यवहारिक पक्षलाई बलियो बनाउने क्लिनिक स्थापनाको प्रयास महत्त्वपूर्ण रहेको बताए । प्रदेशसभा सदस्य अन्सारीले कानुन अध्ययन गरिरहेका विद्यार्थीहरूलाई केवल अधिवक्ताका रूपमा आफूलाई सीमित नगर्न सुझाव दिए । हामीले कानुन अध्ययनलाई केवल मुद्दा लड्नका लागि मात्र सीमित गर्न हुँदैन । कानुनी ज्ञानको उपयोग नीति निर्माणमा समेत हुनुपर्छ । कानुन विद्यार्थीहरूले संसदीय तहमा प्रवेश गरेर नीति निर्माण प्रक्रियामा प्रत्यक्ष संलग्न हुनुपर्छ उनले भने
अन्सारीले मधेस प्रदेशका प्रदेशसभा सदस्यहरूमा कानुनी ज्ञानको कमीले नीति निर्माण प्रक्रियामा जटिलता उत्पन्न भएको चर्चा गरे । उनका अनुसार, विधायिका क्लिनिकजस्ता संस्थाहरूले सांसदहरूलाई कानुनी परामर्श, अनुसन्धान र नीति निर्माण प्रक्रियामा आवश्यक प्रमाणमा आधारित सुझाव दिन मद्दत गर्नेछन् ।
Advertisement
कार्यक्रममा प्रमुख प्रशिक्षक तथा यूथ इन फेडरल डिस्कोर्स वाइएफडीका कार्यकारी सदस्य शौम्या रिसाल र विख्यात खत्रीले कानुन र शिक्षाको सम्बन्ध, शिक्षा क्षेत्रमा कानुनी नीति निर्माणका आवश्यकता तथा स्थानीय तहमा कानुन कार्यान्वयनका चुनौतीहरूबारे जानकारी दिएका थिए । साथै उनीहरूले ‘विधायिका क्लिनिक’ को कार्य, कर्तव्य र अधिकारबारे समेत स्पष्ट पार्दै यसको प्रभावकारिता माथि प्रकाश पारे ।उनकाअनुसार, यसअघि मङ्गलवार नै स्कुलका विद्यार्थीहरूलाई कानुन निर्माणसम्बन्धी एक दिने विशेष प्रशिक्षण प्रदान गरिएको थियो । उक्त प्रशिक्षणले विधायिका क्लिनिकमार्फत विद्यार्थीहरूलाई संसदीय प्रक्रियामा अनुसन्धानमुखी भूमिका खेल्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
वीरगञ्ज स्कुल अफ लका प्रबन्ध निर्देशक चन्द्रिका प्रसाद पटेलका अनुसार विधायिका क्लिनिकको स्थापनाले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नेछ । उनले कानुनी शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन यस्ता पहलहरू आवश्यक रहेको बताए। विद्यार्थीहरूलाई मात्र होइन, शोधकर्ताहरू, सांसदहरू, तथा नीति निर्माणमा संलग्न सबै व्यक्तिहरूलाई यो क्लिनिकले महत्त्वपूर्ण योगदान दिनेछ ।




















प्रतिक्रिया