अभिलाष गुप्ता
माघ १७ बिरगंज
Advertisement
मधेशवादी राजनीतिक दलहरूले एकता र सहकार्यको लागि कार्यदल गठन गरेका छन् । मधेशवादी आठ राजनीतिक दलहरूको बिहीबार सिंहदरबारमा बसेको बैठकले सहकार्य र एकताको वातावरण बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।
कार्यदलमा लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण, जनमत पार्टीबाट शरदसिंह यादव, जनता समाजवादी पार्टीबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट शिवजी यादव, तराई मधेश लोकतान्त्रिक पार्टीबाट श्रीवज्रकिशोर सिंह रहेका छन् ।
Advertisement
कार्यदलका लागि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्तिबाट नाम आउन बाँकी रहेको बताइएको छ । संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरूमा समान धारणा बनाउनका लागि सहकार्य पनि उक्त कार्यदलले गर्ने बताइएको छ । ‘हामी समान विचार बोकेका पार्टी भविष्यमा समान धारणा बोकेर अगाडि जाउँ भनेर मोर्चा, गठबन्धन वा सहकार्यको वातावरण तयार गर्ने निर्णय गरेका छौं । सोहीअनुसार आठ राजनीतिक दलका एक/एक जना नेता रहनेगरी आठ पार्टीको एउटा कार्यदल गठन गरिएको छ,’ जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले भने, ‘यो कार्यदलले हाम्रो सहकार्यलाई अझै सुदृढ गर्न तत्पर हुनेछ । कार्यदलले गठबन्धन अथवा मोर्चाको न्वारन गर्छौं । त्यसपछि त्यसका लागि आवश्यक आचारसंहिता निर्माण गर्छौं । त्यसपछि हामी समान विचारको दस्तावेज लेखन गर्छौं । अगामी बैठकको संयोजन पनि गर्छौं । समान धारणा बनाउँदै अगाडि बढ्छौं । लक्ष्य एकता नै तर अहिले भन्न सकिन्न ।’
त्यस्तै, बैठकले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशको विरोध गर्ने निर्णयसमेत गरेको सुमनले जानकारी दिए । सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर मधेशी, जनजाती र आदिवासी समुदायलाई विस्थापित गर्न खोजेको आरोप उक्त बैठकले लगाएको छ । वर्तमान सरकारले एकतन्त्रीय प्रणाली अपनाएको उल्लेख गर्दै त्यसप्रति मधेशवादी दलहरू सकारात्मक हुन नसक्ने सुमनले बताए ।




















प्रतिक्रिया