अस्पतालको स्तरोन्नत्ती र सरकारी सेवा विस्तारको मागमा धर्ना स्थगित

असोज २३, २०८१ बुधबार । पर्सा जिल्लाको पोखरिया अस्पतालको स्तरोन्नत्ती तथा सरकारी कार्यालयहरूको सेवा विस्तारको माग गर्दै ११ दिनदेखि चलिरहेको धर्ना कार्यक्रम बुधबार स्थगित भएको छ। राष्ट्रिय मुक्ति क्रान्ति नेपालले असोज १३ गतेदेखि धर्ना थालेको थियो। धर्ना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र मधेस सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले आन्दोलनकारीसँग माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि स्थगित भएको हो। धर्नास्थलमा पुगेर मन्त्री गुप्ताले आन्दोलनकारीलाई जुस खुवाएर धर्ना अन्त्य गराएका थिए। मन्त्रीहरूले पोखरिया अस्पतालमा रहेको कमीहरू एक महिनाभित्र सुधार गर्ने र अन्य माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका छन्। राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य निजामुदिन समानीको नेतृत्वमा पोखरिया अस्पतालमा धर्ना दिइएको थियो। प्रदेश सरकारले पाँच वर्षअघि पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा घोषणा गरे पनि आवश्यक भौतिक पूर्वाधार र सेवा उपलब्ध नगराइएको भन्दै आन्दोलन गरिएको थियो। आन्दोलनकारीहरूले भूमिसुधार, मालपोत, नापी लगायतका सरकारी सेवा विस्तारको पनि माग राखेका थिए।

Advertisement