अभिलाष गुप्ता
फाल्गुन १४ बिरगंज
Advertisement
प्याब्सन पर्साले आयोजना गरेको नेपाल मेडिसिटी इन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिताको उपाधि मुनलाईट स्कुलले जितेको छ । बुधवार नारायणी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा विद्यासागर स्कुललाई १७ रनले पराजित गर्दै मुनलाईट स्कुल च्याम्पियन बनेको हो ।प्रतियोगिताको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुनलाईट स्कुलले निर्धारित २० ओभरअघि नै १७.४ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल तयार पारेको थियोे । टिमका लागि सेराज हवारीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
११४ रनको लक्ष्यसहित मैदान उत्रिएको विद्यासागर स्कुल निर्धारित २० ओभर खेल्दा ८ विकेट गुमाएर ९६ रनमै समेटियो । बलिङतर्फ मुनलाईट स्कुलका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी टोलीलाई रन बनाउने अवसर दिएनन् । विशेषगरी सेराज हवारी बलिङतर्फ पनि प्रभावशाली रहे । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका उनले प्लेयर अफ दी म्याचको उपाधि जिते । त्यस्तै, सेराज प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी टुर्नामेन्ट बने ।
Advertisement
फाइनल खेलपछि आयोजित समापन समारोहमा विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम स्थान हासिल गर्ने मुनलाईट स्कुललाई १५ हजार नगदसहित शिल्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरियो । यस्तै, उपविजेता बनेको विद्यासागर स्कुलले १० हजार नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । तेस्रो स्थान हासिल गर्ने साउथ जोन स्कुलले ५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यसैगरी, विभिन्न विधागत उपाधि जित्ने खेलाडीहरूलाई समेत नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले प्रतियोगिताको सफल समापनबारे जानकारी दिँदै भविष्यमा पनि यस्ता प्रतियोगिताहरू निरन्तर गरिने प्रतिबद्धता जनाए ।
Advertisement
समापन समारोहमा प्रतिनिधि सभा सदस्य एवं पूर्व वन तथा वातावरण मन्त्री डा.बिरेन्द्र प्रसाद महतो, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह,प्याब्सनका केन्द्रिय सदस्य तथा समाज सेवी प्रकाश उपाध्याय,जिल्ला शिक्षा समन्वय इकाई पर्साका प्रमुख मोतिप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,श्याम केसि,गयासुदिन ठकुराई लगायतको उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया