वीरगञ्जमा टाँगाको घोडाले बाटोमा दिशा-पिसाब गरेमा टाँगा चालक नै जिम्मेवार

अभिलाष गुप्ता
चैत ०४ बिरगंज

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको वीरगञ्जको शङ्कराचार्य गेटदेखि रजतजयंती चौक, बाइपास रोड हुँदै नयाँ बसपार्कसम्म सरसफाइ एवम् जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

Advertisement

उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, प्रहरी चौकी इनर्वा, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका निजी साझेदार सरसफाइ ठेकेदार शिव गुप्ता, नगरपालिकाका एक्सन टिमसहित करिब १५० जनाको उपस्थिति थियो । सरसफाइका लागि टाँगा चालकहरूलाई विशेष रूपमा सचेत गराइएको थियो ।

सो क्रममा टाँगावालाहरूलाई मितेरी पुलदेखि बाइपास रोड हुँदै नयाँ बसपार्कसम्म मात्र सञ्चालन गर्न निर्देशित गरिएको थियो । त्यस्तै टाँगाको घोडाले बाटोमा दिशा-पिसाब गरेमा टाँगा चालक नै जिम्मेवार हुने पनि उनीहरूलाई बताइएको थियो । अबदेखि बाटोमा मल–मूत्र देखिएमा महानगरपालिकाको नियमअनुसार टाँगा चालकलाई कारबाही पनि गर्ने उनीहरूलाई जानकारी समेत गराइएको थियो ।ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापा, प्रहरी चौकी इनर्वाका छोटेलाल कुशवाहा, वीरगञ्ज महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख सर्फुदिन मियाँ लगायतकाको सहभागिता रहेको थियोे।

Advertisement