जनकपुरमा बिना दर्ता सञ्चालनमा रहेको अस्पतालका म्यानेजर र बिचौलिया पक्राउ

नागरिक न्युज डेस्क,चैत्र १८, पर्सा । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोकस्थित जनकपुर सिता हस्पिटलका म्यानेजर मधु महतो र बिचौलिया सुभाष मुखियालाई बिना दर्ता अस्पताल सञ्चालन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

गत माघ २६ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पतालको आकस्मिक अनुगमन गर्दा सो अस्पताल दर्ता नगरी मापदण्ड उल्लंघन गर्दै सञ्चालन भइरहेको पाएका थिए। मुख्यमन्त्री सिंहले तत्काल अस्पताललाई दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएका थिए। त्यसपछि केही समय अस्पताल बन्द गरिएको थियो। तर, पछिल्लो समय अस्पताल पुनः सञ्चालनमा ल्याइएको पाइएको छ।सोमबार मुख्यमन्त्री सिंह एक कार्यक्रमबाट फर्किने क्रममा अस्पतालको मुख्यद्वारमा ‘यो अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ’ भन्ने सूचना बोर्ड झुन्ड्याइएको अवस्थामा भेटे। शंका लागेपछि मुख्यमन्त्री सिंह अस्पतालभित्र पसे र पाँच जना बिरामीहरूको उपचार भइरहेको देखे। तत्कालै प्रहरीलाई खबर गरी म्यानेजर महतो र बिचौलिया मुखियालाई पक्राउ गराइएको थियो।

Advertisement

प्रहरीका अनुसार अस्पतालका सञ्चालक डा. प्रमोद यादवसहित अन्य पाँच जना अस्पताल सञ्चालनमा संलग्न छन्। मुख्यमन्त्री सिंहको कडा निगरानी र कदमपछि अनधिकृत रूपमा अस्पताल सञ्चालन गर्ने र मापदण्ड उल्लंघनमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिएको हो।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ। यस घटनाले जनकपुरधाममा गैरकानुनी स्वास्थ्य सेवाका विषयमा गम्भीर प्रश्न उठाएको छ। स्थानीय जनताले बिना दर्ता र मापदण्डविपरीत सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूलाई नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने माग गरेका छन्।

Advertisement