लालबाबु सिंह, बैशाख २६ । गरिब,असहाय र पीडित समुदायलाई राहत पुर्याउने लक्ष्यसहित सञ्चालनमा रहेको वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको ऐतिहासिक स्थल घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
“जो संग धेरै कपडा छ, हामिलाई दिएर जानुहोस्; जसलाई आवश्यक छ, नि:शुल्क लिएर जानुहोस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कपडा बैंकले नयाँ तथा पुराना गरी करिब ८५० थान कपडा वितरण गरेको हो।
Advertisement
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लालबाबु सिंहले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ समाजसेवी तथा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी रहनुभएको थियो।
कार्यक्रममा अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी सतिश सिंह राजपुत, हुकुम सिंह राजपुत, अभिलाष गुप्ता, अर्जुन चौधरी, सन्तोष कुशवाहा, अजित भुजेल, किशोरलाल सिंह, नवराज भट्टराई, शोभा देवी, जानकी देवी लगायतको सक्रिय उपस्थिति रहेको थियो।
Advertisement
प्रमुख अतिथि अधिवक्ता कुर्मीले बैंकको ६ वर्षे सेवाको चर्चा गर्दै भन्नुभयो,”बाढी, आगलागी जस्ता विपद्का बेला पीडितको घर-आँगनमै पुगेर कपडा र अन्य आवश्यक सामग्री प्रदान गर्नु वीरगन्ज कपडा बैंकको विशेषता हो।”
संस्था प्रत्येक हप्ता आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि दिउँसो ५ बजेसम्म आफ्नो कार्यालय वीरगन्ज-८ बाट सेवा दिँदै आइरहेको छ। साथै, प्रत्येक महिना समुदायको पहुँचमा पुग्न घण्टाघरलगायत विभिन्न स्थानमा विशेष वितरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
बैंकले सहकार्य र सद्भावका माध्यमबाट समाजसेवाको एक सशक्त नमुना प्रस्तुत गर्दै आइरहेको छ। गरिब, विपन्न र पीडित समुदायका लागि यस्ता कार्यक्रमले राहत मात्र नभइ आत्मबल समेत प्रदान गर्दै आएको जनाइएको छ।




















प्रतिक्रिया