
, काठमाडौँ : सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलोपटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई सवारीचालक अनुमतिपत्र हस्तान्तरण गरे। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, ‘क्युआर कोड’ सहितको सो अनुमतिपत्र छपाइको परीक्षण सफल भएसँगै पहिलो चरणमा केन्द्रले ५२० थान लाइसेन्स हस्तान्तरण गरेको हो। केन्द्रलाई प्राप्त एक हजार २०० आवेदक अनुसारको अनुमतिपत्र दोस्रो चरण छपाइ गरिने सुरक्षण मुद्रणले जनाएको छ। अब अनुमतिपत्रको छपाइ निरन्तर हुने केन्द्रको भनाइ छ। अनुमति छपाइका लागि सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच गएको कात्तिक १२ गते सम्झौता भएको थियो, जसअनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान अनुमतिपत्र विभागलाई उपलब्ध गराउनुपर्ने छ।
Advertisement
केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले विभागले उपलब्ध गराएको तथ्याङ्कका आधारमा छपाइ तीव्र गतिमा हुने बताए। उनले विभागले जति धेरे तथ्याङ्क पठाउँछ सोही आधारमा जति पनि लाइसेन्स छाप्न सकिने बताए। छापिएका नयाँ अनुमतिपत्रको नेपालकै प्रयोगशालामार्फत विभिन्न मापदण्डको गुणस्तर परीक्षण गरेर विभागलाई उपलब्ध गराइएको उनको भनाइ छ। यातायात व्यवस्था विभागका निर्देशक खतिवडाले मुद्रण केन्द्रबाट अनुमतिपत्र प्राप्त भएसँगै यस क्षेत्रसँग सम्बन्धित ठुलो समस्याको समाधान भएको उल्लेख गर्नुभयो। ‘विभागमा विगत चार/पाँच वर्षदेखि लाइसेन्सको समस्या थियो। सेवाग्राहीको समस्या समाधानको सकारात्मक पहल भएको छ। पछिल्लो पटक सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर लाइसेन्स प्राप्त भएको छ। यस कार्यलाई निरन्तरता दिइने छ’, उनले भने। विभागले वैकल्पिक सफ्टवेर बनाएर दैनिक दुई हजार तथ्याङ्क केन्द्रलाई उपलब्ध गराउन सकिने जनाएको छ। एक महिनाभित्र नयाँ सफ्टवेयर विकास गरिने विभागको भनाइ छ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको भवनमा गत कात्तिक २१ गते लाइसेन्स छपाइ शुरु भएको थियो।



















प्रतिक्रिया