अभिलाष गुप्ता
बिरगंज १४ मंसिर बहुदरमाई नगरपालिकामा बढ्दो अव्यवस्था र जनप्रतिनिधिहरूको आन्तरिक विवादको विरुद्धमा आज सचेत नागरिक समाज बहुदरमाईले नगरपालिका कार्यालयको अगाडि शान्तिपूर्ण धर्ना दिएको छ। विहान १० देखि मध्यान्ह १२ बजेसम्म आयोजित यो धर्नामा सहभागीहरूले नगरपालिकाको कामकारबाहीलाई सुधार गर्न सात बुँदे माग राखेका छन्।
Advertisement
सचेत नागरिक समाजका अगुवा राकेश यादवका अनुसार, नगरपरिषदको लगातार ढिलाइ र जनप्रतिनिधिहरूको असमझदारीले विगत ६ महिनादेखि शिक्षा, स्वास्थ्य, र सेवा सुविधाहरूमा प्रभाव पारेको छ। यसका कारण स्थानीय शिक्षक, कर्मचारी, र सर्वसाधारण समस्यामा परेका छन्। तत्काल सेवा सुचारु गर्न दबाब दिने उद्देश्यले यो धर्ना आयोजना गरिएको हो।
माग र समस्या
नगरपालिकाका वडाहरूमा व्याप्त समस्याको समाधान गर्न निम्न सात मागहरू अघि सारिएका छन्:
१. कर्मचारीहरूको तलब तत्काल भुक्तानी गर।
२. किसानलाई मलखाद, बीउ, र कीटनाशक औषधिको व्यवस्था गर्न बजेट परिचालन गर।
३. विद्यालयका विद्यार्थीहरूको दिवा खाजा कार्यक्रम पुनः सुचारु गर।
४. नगरपरिषदबाट पारित बजेट पुनः संशोधन गर।
५. सामाजिक सुरक्षा भत्ता समयमा भुक्तानी गर।
६. स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको व्यवस्था गर।
७. वडास्तरीय कार्यालय र विद्यालयहरूको खर्च व्यवस्थापन गरि सेवा सुचारु गर।
Advertisement
वडामा तालाबन्दी
बहुदरमाई नगरपालिकाका वडा नम्बर १ देखि ५ का वडाध्यक्षहरूले कार्यालयमा तालाबन्दी गरिसकेका छन्। समस्या सात दिनभित्र समाधान नभए आमरण अनशन बस्ने चेतावनी स्थानीय नेताहरूले दिएका छन्।
सचेत नागरिक समाजले नगरपालिकाका जिम्मेवार निकायहरूलाई शीघ्र सुधारात्मक कदम चाल्न आह्वान गरेको छ। अन्यथा, थप कडा आन्दोलन गर्ने चेतावनीसमेत प्रदर्शनकारीहरूले दिएका थिए।




















प्रतिक्रिया