अभिलाष गुप्ता
बिरगंज ०१ पुस पहिलो संस्करणको एसीसी यु-१९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा सम्पन्न खेलमा नेपालले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै सहजै लक्ष्य पूरा गर्यो ।पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०४ रनको सम्मानजनक स्कोर खडा गर्यो । पाकिस्तानका लागि कोमल खानले ४४ बलमा २ चौकासहित ३८ रनको महत्त्वपूर्ण पारी खेलिन् । यस्तै, महम अनीसले ३७ बलमा २९ रन बनाएर टोलीलाई मजबुत स्थितिमा पुर्याइन् । कप्तान जोफिशान अयाजले १२ रनको योगदान दिइन् ।
नेपालका बलरहरू अनुशासित देखिए । कप्तान पूजा महतोले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । यस्तै, रचना कुमारी चौधरी र रिया शर्माले समान १-१ विकेट लिए । सीमाना केसी र कृष्मा गुरुङको प्रदर्शन अपेक्षाकृत प्रभावकारी रहेन ।१०५ रनको लक्ष्य लिएर ब्याटिङ गर्न उत्रिएको नेपालले संयमित सुरुआत गर्यो । ओपनर साना प्रवीणले १५ बलमा १० रन बनाउँदै एक चौका प्रहार गरिन् । उनि फातिमा खानको उत्कृष्ट थ्रोमा रनआउट भइन् । त्यसपछि सावित्री धामीले १६ बलमा ८ रन जोडिन् ।
Advertisement
कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ३ चौकासहित नटआउट ४७ रन बनाएर टोलीलाई जित दिलाइन् । उनी अन्त्यसम्म क्रिजमा टिकिरहिन् । सोनी पोख्रेलले २० बलमा १३ रनको योगदान दिइन् तर कुर्तुलैनको थ्रोमा रनआउट भइन् । सीमान केसीले पनि आक्रामक रूपमा १२ बलमा १२ रन बनाएर नटआउट रहिन् ।
नेपालले १९ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। कप्तान पूजा महतो र सीमान केसीबीचको ३९ रनको साझेदारी जितको प्रमुख आधार बन्यो ।
Advertisement
पाकिस्तानका बलरहरूमध्ये फातिमा खानले उत्कृष्ट बलिङ गरिन् । उनले ४ ओभरमा मात्र ११ रन खर्चेर १ विकेट लिइन् । महनूर जेबले २२ रन खर्चेर १ विकेट लिइन् भने कुर्तुलैनले १३ रन खर्चेर १ विकेट हात पारिन् ।नेपालको जितले टोलीको मनोबल उच्च बनाएको छ । अब नेपालले समूह चरणको दोस्रो खेल मङ्गलवार भारतसँग खेल्नेछ। समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, र मलेसिया छन् ।
नेपालले यस प्रतियोगितामा महिला यु–१९ विश्वकपका लागि एसिया क्षेत्रबाट छनोट हुँदै सहभागिता जनाएको हो । आगामी जनवरीमा मलेसियामा हुने महिला यु–१९ विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । त्यहाँ उसको प्रतिस्पर्धा अस्ट्रेलिया, बङ्गलादेश, र स्कटल्यान्डसँग हुनेछ ।नेपालका खेलाडीहरूको संयमित प्रदर्शन र कप्तान पूजा महतोको नेतृत्वले टोलीलाई बलियो प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरेको छ ।




















प्रतिक्रिया