हनुमान मन्दिर परिसरमा वृक्षारोपण, विकासमा एकताका लागि जोड

पर्सा,असार २१ गते । पर्साको पोखरिया नगरपालिका–९ स्थित हनुमान मन्दिर परिसरमा निर्माणाधीन पार्कमा आइतबार लायन्स क्लब अफ पोखरियाको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

Advertisement

कार्यक्रममा पूर्व नगर प्रमुख दिपनारायण रौनियार, श्रीकिसुन चौहान, वडा अध्यक्ष नौशाद आलम, लक्ष्मण साह, रामबाबु चौहान, लायन्स क्लब अफ पोखरियाका उपाध्यक्ष तथा नेपाली कांग्रेसकी महिला नेत्री आशा चौहान, क्लबका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा हनुमान मन्दिरको जग्गा नामसारी गराउन विशेष पहल गरेका गोरख साह तेलीलाई उहाँको योगदानको कदर गर्दै प्रमुख अतिथि क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

Advertisement

वक्ताहरूले हनुमान मन्दिर परिसरको पार्क निर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट आपसी विवादका कारण खर्च हुन नसकी फ्रिज हुनु दुःखद र दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षबीच सहकार्य, आपसी समझदारी र एकता अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।

उनीहरूले हनुमान मन्दिर परिसरलाई हरियाली, स्वच्छ तथा आकर्षक धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र स्थानीयवासी सबैको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए।

Advertisement

कार्यक्रम अन्त्यमा मन्दिर परिसर तथा निर्माणाधीन पार्क क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।