नतिजामुखी लेखा परीक्षणको विकास आजको आवश्यकताः सभामुख

काठमाडौँ, असार १५ गते । सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षणको विकास आजको आवश्यकता भएको बताउनुभएको छ । सोमबार महालेखा परीक्षक कार्यालयको ६८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले यस्तो बताउनुभएको हो ।

उहाँले सार्वजनिक वित्त व्यवस्थापनको स्वरूप, सूचना प्रविधिको विकास, जोखिमका क्षेत्र तथा नागरिक अपेक्षामा आएको परिवर्तनसँगै लेखा परीक्षण प्रणाली पनि समायानुकुल परिमार्जित हुँदै जानु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले बर्सेनि करिब छ हजार निकाय तथा कार्यालयको लेखा परीक्षण निर्धारित समयमा हुने गरेको बताउनुभयो । देशभरका हजारौँ सार्वजनिक निकायको सीमित स्राेत, साधनका बिच समयमै लेखा परीक्षण सम्पन्न गर्नु आफैँमा चुनौतिपूर्ण कार्य भएको उहाँको भनाइ छ ।

Advertisement

सभामुख अर्यालले बेरुजु कुनै पनि संस्थाका लागि गौरवको विषय नभएको बताउनुभयो । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन २०८१–०८२ मा ८८ अर्ब नौ करोड बेरुजु देखिएको र हालसम्मको अद्यावधिक बेरुजु सात खर्ब ५५ अर्ब १७ करोड पुगेको देखिएको बताउनुभयो ।

बर्सेनि उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको सभामुख अर्यालको भनाइ छ । औँल्याइएका बेरुजुको समयमै फर्छ्यौट, आवश्यक सम्परीक्षण तथा भविष्यमा बेरुजु नै नआउने गरी बेरुजु व्यवस्थापन सुधार गर्नु तीन तहकै सरकार, लेख उत्तरदायी अधिकारी, तथा सम्बन्धित पदाधिकारीको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

Advertisement

आफ्नो जिम्मेवारीप्रति उत्तरदायी र जवाफदेही हुने संस्कृतिको विकास आजको अपरिहार्य आवश्यकता भएको बताउनुभयो । सभामुख अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा आधुनिक सूचना प्रविधि, डेटा विश्लेषण तथा कृत्रिम बुद्धिमताको उपयोग तीब्र रूपमा बढिरहेको बताउनुभयो ।

नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई थप परिष्कृत गर्दै कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा कार्यालयले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement