Advertisement
अभिलाष गुप्ता
बिरगंज ०३ पुस गौर । रौतहटस्थित प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनवर हासमीले पुनः एक डाक्टरलाई दुर्व्यवहार गर्दै हटाएको आरोप सार्वजनिक भएको छ । अस्पतालका अध्यक्ष हासमी र मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले डा. इम्तियाज अहमदलाई एक हप्ता अघि बिना कारण दुर्व्यवहार गर्दै पदच्युत गरेको डा. अहमदले दाबी गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ, रौतहट शाखामा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा डा. इम्तियाजले अध्यक्ष हासमी र मेसु डा. ठाकुरले पद र कुर्सीको दुरुपयोग गर्दै आफूलाई सेवा गर्नबाट रोकिएको आरोप लगाए ।
Advertisement
उनका अनुसार ड्युटी समय सकिएपछि खाजा खान जाँदा लेखापाल जितेन्द्र यादवले अल्ट्रासाउण्डको बहानामा विवाद सिर्जना गरेका थिए । विवादबारे सत्य तथ्य नबुझी अध्यक्ष हासमीले आफूलाई अस्पताल छाड्न आदेश दिएको डा. इम्तियाजको भनाइ छ । उनले भने, “विवादको कारण र सत्य बुझ्नु पर्थ्यो । तर, झुटो र भ्रामक विवरणको आधारमा मलाई बिना सुनुवाइ अस्पतालबाट हटाइयो ।”
डा. इम्तियाजले अस्पतालको अल्ट्रासाउन्ड सेवा र आइसियु ठप्प रहेको भन्दै यसले सर्वसाधारणले पाउने स्वास्थ्य सेवामा ठुलो असर परेको बताए । उनले सरोकारवालाहरूलाई यस विषयमा गम्भीर बन्न आग्रह गर्दै अस्पतालमा व्याप्त अनियमितताबारे छानबिनको माग गरे ।
Advertisement
पत्रकार सम्मेलनमा डा. इम्तियाजले अध्यक्ष हासमी, मेडिकल सुपरिटेन्डेन्ट ठाकुर र लेखापाल यादवले भ्रष्टाचारका खेललाई लुकाउन आफूलाई हटाइएको दाबी गरे । उनले भने, “जनताको सेवा भन्दा पनि लेखापाल यादवका गलत आदेश मान्न दबाब दिइन्थ्यो । झूटा बिल भुक्तानीको लागि मलाई गलत रिपोर्टिङको आधारमा सिकार बनाइयो ।”
डा. इम्तियाजले आफूलाई हटाउनु कुनै एकपटकको घटना नभएको उल्लेख गर्दै अध्यक्ष हासमीले लोभ-लालचका कारण अन्य चिकित्सकहरूमाथि पनि दुर्व्यवहार गर्दै निकाल्ने काम गरेको आरोप लगाए । उनले डा. अमित चौधरी, नवीन चौधरी र गोपाललाई पनि अस्पतालबाट हटाइएको जानकारी दिए ।
डा. इम्तियाजले अध्यक्ष हासमी र मेडिकल सुपरिटेन्डेन्ट ठाकुरको मिलोमतोमा अस्पताल सञ्चालनमा तानासाही प्रवृत्ति अपनाइएको आरोप लगाए । गोप्य टेन्डरमार्फत औषधि तथा उपकरण खरिद, भवन रङरोगन, टिकट काउन्टरको रकम हिनामिना, न्यानो झोला वितरण, करार कर्मचारी भर्ना, निजी क्लिनिक र ल्याबसँगको साठगाँठ जस्ता अनियमितताका समाचार पटक-पटक बाहिर आएका छन् ।
डा. इम्तियाजले अस्पताल प्रशासनको दादागिरी र भ्रष्टाचार अन्त्यका लागि सार्वजनिक छानबिनको माग गर्दै दोषीलाई कारबाही गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।




















प्रतिक्रिया