जसपा नेपालको क्षेत्रीय इन्चार्जमा चतुर्वेदी र अध्यक्षमा एलाही मनोनित

 

अभिलाष गुप्ता
वीरगञ्ज ०३ पुस जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्साले सङ्गठनात्मक विस्तारको पहललाई निरन्तरता दिँदै पर्सा क्षेत्र नम्बर १ र २ का विभिन्न नेतृत्व तहमा नयाँ मनोनयन गरेको छ ।

Advertisement

पार्टीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष आशुतोष चर्तुवेदीलाई पर्सा क्षेत्र नम्बर २ को क्षेत्रीय इन्चार्ज र वडा नम्बर १४ का वडा अध्यक्ष महबुब एलाहीलाई पर्सा प्रदेश सभा क्षेत्र नम्बर १ (क) को अध्यक्षमा मनोनीत गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले विशेष कार्यक्रममार्फत चतुर्वेदी र एलाहीलाई क्रमशः इन्चार्ज र अध्यक्ष मनोनीत गरिएको घोषणा गरेका छन् ।

Advertisement

पार्टीका वरिष्ठ नेताहरू पूर्व मन्त्री तथा प्रदेश सांसद सिंहासन साह कलवार, सुरेन्द्र कुर्मी र वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रितेश कुमार गुप्तालगायतको उपस्थितिमा नव मनोनीतहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको थियो ।

चर्तुवेदी र एलाही दुवै जना स्थानीय राजनीति र सङ्गठनका अनुभवी नेतृत्वकर्ता हुन् । दुवैले आफ्नो नयाँ भूमिकामा सक्रिय रहेर पार्टी सङ्गठनलाई थप मजबुत बनाउने र स्थानीय जनचाहना पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । नयाँ नेतृत्वको मनोनयनले सङ्गठनलाई बलियो बनाउन र स्थानीय जनताको भावना सम्बोधन गर्न थप सक्षमता प्रदान गर्ने विश्वास पार्टीले लिएको छ ।

Advertisement