आज क्रिसमस दिवस बिरगंजमा पनि इसाई धर्मावलम्बीले धुमधामका साथ मनाउँदै

अभिलाष गुप्ता
पौष १० बिरगंज

इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।

Advertisement

दुई हजार बर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा ईस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।

Advertisement

क्रिसमसका अवसरमा काठमाण्डौ, ललितपुर, भक्तपुर, पोखरालगायत शहरमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिनुभएको छ ।

यता बिरगंज आदर्शनगरस्थित श्री आदर्श माध्यमिक विद्यालयमा आज (मंगलबार) लायन्स क्लब अफ बिरगंज सेन्ट्रलको आयोजनामा क्रिसमस उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रलकी अध्यक्ष रेखा वैद थिइन्। विशिष्ट अतिथिका रूपमा सीता अग्रवाल, आषा अग्रवाल, र मीरा खेतानको पनि उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा लायन्स क्लब अफ बिरगंज सेन्ट्रलका सदस्यहरू कविता हलालका, राजु जैन तथा विद्यालयका प्रधानाध्यापक राम विनय पाण्डे एवं पि.जी. कक्षाका कोडिनेटर मौसम भंगर विशेष रूपमा सहभागी भएका थिए।

क्रिसमस पर्वको अवसरमा बिरगंज महानगरपालिका वडा नम्बर १० स्थित विद्यालयको हलमा पि.जी. कक्षाका स-साना बालबालिकाहरूलाई विभिन्न खेल गतिविधिमा सहभागी गराइयो। उनीहरूलाई स्टेशनरी सामग्री, ख्रीष्टमसका टोपिहरू, चकलेट वितरण गरिनुका साथै सम्मान समेत गरियो। कार्यक्रममा केक काटेर नाचगानसहित क्रिसमसकाे उल्लासपूर्ण वातावरण सिर्जना गरिएको थियो।

यस अवसरमा विद्यालयका शिक्षक-शिक्षिका, लायन्स क्लब अफ बिरगंज सेन्ट्रलका पदाधिकारी तथा सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमले बालबालिकाहरूमा क्रिसमस पर्वको महत्व र उत्साह थप्न मद्दत पुगेको आयोजकले बताएका छन्।