एजेन्सी : यो वर्ष (सन् २०२४) सबैभन्दा तातो वर्ष हुने सम्भावनाका बीच, कोइलाको खपतले पुराना रेकर्ड तोड्ने तयारी गरेको छ। संसारभर कोइलाको माग बढेको नयाँ प्रतिवेदनले देखाएको छ।यो वर्ष विश्वव्यापी रूपमा कोइलाको माग ८.७७ अर्ब टन पुग्ने अनुमान गरिएको अन्ताराष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को नयाँ प्रतिवेदन ‘कोइला २०२४’ मा उल्लेख छ। कोइलाको खपतले रेकर्ड कायम गरेको यो लगातार तेस्रो वर्ष हुनेछ, यद्यपि यसलाई घटाउन जोडदार माग भइरहेको छ। वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यास उत्सर्जनका कारण सिर्जित डरलाग्दा प्रभाव रोक्न कोइलाको खपतलाई द्रुत रूपमा घटाउन आवश्यक छ, अन्यथा यसले पृथ्वी र मानव जगत्विरुद्ध गम्भीर परिणामहरू निम्त्याउनेछ।
चीनमा कोइलाको सबैभन्दा बढी खपत
Advertisement
विश्वमा सबैभन्दा धेरै कोइला चीनमा बालिन्छ। चीनमा बिजुलीको बढ्दो माग यसको प्रमुख कारण हो। सन् २०२४ मा चीनको कोइला खपत ४.९ अर्ब टन पुग्ने अनुमान गरिएको छ, जुन पनि नयाँ रेकर्ड हुनेछ। यद्यपि चीनले सौर्य र वायु ऊर्जामा ठूलो लगानी गरिरहेको छ तर कोइलाले उसको ऊर्जा आवश्यकता पूरा गर्न मुख्य भूमिका निभाइरहेको छ। ‘विशेष गरी चीनमा मौसमसँग सम्बन्धित कारकहरूले कोइलाको मागमा ठूलो प्रभाव पार्नेछ। बिजुलीको माग कत्तिको बढ्छ भन्ने कुरा पनि धेरै महत्त्वपूर्ण हुनेछ’, आईईएका ऊर्जा बजार निर्देशक केइसुके सदामोरीले भने।
भारत र इन्डोनेसियाले पनि कोइलाको खपत बढाउन योगदान गरिरहेका छन्। २०२४ मा भारतको कोइलाको माग ५ प्रतिशतले बढेर १.३ अर्ब टन पुग्न सक्ने देखिएको छ भने इन्डोनेसियाले कोइलाको उत्पादन रेकर्ड स्तरमा बढाएको छ। चीन र भारतलाई जोडेर यो वर्ष कोइलाको विश्वव्यापी उत्पादन ९ अर्ब टनभन्दा बढी हुनेछ।
Advertisement
विकसित देशमा खपत घट्यो
अमेरिका र युरोपेली संघ जस्ता विकसित क्षेत्रमा भने कोइलाको खपत घट्दै गएको छ। यद्यपि गिरावटको दर सुस्त देखिएको प्रतिवेदनमा उल्लेख छ। सन् २०२४ मा अमेरिका र युरोपमा कोइलाको माग क्रमशः ५ प्रतिशत र १२ प्रतिशतले घट्ने अनुमान गरिएको छ। गत वर्ष यो गिरावट १७ प्रतिशत र २३ प्रतिशत थियो। सन् २०२३ मा जर्मनीमा कार्बन उत्सर्जन ७० वर्षकै सबैभन्दा कम थियो।सुस्त गिरावटका पछाडि राजनीतिक अस्थिरता मुख्य कारण मानिएको छ। अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्पको पुनरागमनले जलवायु नीतिहरूमा प्रभाव पार्न सक्ने अनुमान भइरहेको छ। ट्रम्पले पहिले नै जलवायु परिवर्तनलाई ‘धोका’ भनेका छन्, जसले विश्वव्यापी प्रयासहरूमाथि खतरा पैदा गरिदिएको छ।सन् २०२३ मा पनि ऊर्जा क्षेत्रबाट हुने उत्सर्जनले रेकर्ड तोडेको थियो। आर्टिफिशियल इन्टेलिजेन्स (एआई)का कारणले गर्दा, डेटा सेन्टरहरूको बिजुली खपत बढ्दै गएको छ। तीमध्ये धेरैजसो बिजुली विशेषगरी चीनमा कोइलाबाट चल्ने प्लान्टबाट आउँछ। यसले कोइला खपत घटाउने प्रयासलाई थप कठिन बनाउन सक्ने आईईएले जनाएको छ।
Advertisement
कोइलाको माग कहिले घट्छ ?
सन् २०२४ का लागि अवस्था गम्भीर भए पनि विश्वव्यापी कोइला खपत २०२७ सम्म चरम सीमामा पुग्ने आईईएले अनुमान गरेको छ। नवीकरणीय ऊर्जाको विस्तार र बिजुलीको मागको स्थिरीकरणमा यो अनुमान निर्भर गर्ने बताइएको छ। ‘स्वच्छ ऊर्जा प्रविधिहरूको द्रुत प्रयोगले विद्युतीय क्षेत्रलाई परिवर्तन गरिरहेको छ तर २०२७ सम्म कोइलाको खपतलाई चरम सीमामा पुर्याउन निरन्तर प्रयासहरू आवश्यक छन्’‚ सदामोरी ले भने।
कोइलाको बढ्दो खपत अन्ताराष्ट्रिय स्तरमा जलवायु संरक्षणका लागि गरिएका प्रतिज्ञाहरूको विपरीत छ। दुबईमा भएको कोप–२८ सम्मेलनमा देशहरूले जीवाष्म इन्धनबाट टाढा जाने प्रतिबद्धता गरेका थिए। तर यो वर्ष अजरबैजानमा आयोजित कोप–२९ मा यसतर्फ कुनै उल्लेखनीय प्रगति भएन।ती प्रतिज्ञा पूरा नभएको अवस्थामा जलवायु परिवर्तनसँग जुध्ने प्रयासहरू धरमराउन सक्ने जलवायु विज्ञहरू बताउँछन्। सन् २०२४ लगभग निश्चित रूपमा रेकर्डमा सबैभन्दा तातो वर्ष हुने युरोपेली संघको जलवायु अनुगमनकर्ताले भन्दै आएका छन्।




















प्रतिक्रिया