व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री द्वारा कृषि उपकरणहरु अनुदानमा दिने

 

अभिलाष गुप्ता
पौष १७ वीरगन्ज

Advertisement

मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले वीरगन्ज कृषि औजार कारखानाबाट उत्पादन भइरहेका कृषि उपकरण र औजारहरु प्रदेश सरकारले खरिद गरेर अनुदानमा किसानलाई उपलब्ध गराउने बताएका छन् ।

बुधबार कारखानाको स्थलगत अवलोकन गरेपछि राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरुसंग कुरा गर्दै मन्त्री क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

Advertisement

झण्डै दुई दशकदेखि बन्द कृषि औजार कारखाना पुन सञ्चालनको जिम्मा लिएर राष्ट्रिय आविष्कार केन्द्रले मर्मतसम्भार गरी अहिले परिक्षणका रुपमा डेढ दर्जन भन्दा बढी प्रकारका कृषि उपकरण र औजारहरु उत्पादन गरिरहेको छ ।

बुधबार कारखानाको अवलोकन पश्चात मन्त्री क्षेत्रीले कारखानामा अहिले परिक्षणका रुपमा उत्पादन भइरहेका कृषि उपकरण र औजारहरु किसानका बिचमा लगेर प्रदर्शन गर्न केन्द्रका प्राविधिकहरुलाई सुझाव दिए ।प्रदर्शनका क्रममा किसानले ती उपकरण र औजारबारे राम्रो प्रतिक्रिया दिएमा प्रदेशको कृषि मन्त्रालयले खरिद गरेर किसानलाई अनुदान र सहुलियतमा उपलब्ध गराउनेपनि मन्त्री क्षेत्रीले बताए ।

Advertisement

केन्द्रका ईन्जियिर रितेश देवसहितका टोलीलाई मन्त्री क्षेत्रीले भने,‘उत्पादन भइरहेका कृषि यन्त्र र उपकरणहरुले पहिले किसानका बिचमा गएर डेमोन्स्ट्रेसन गर्नुस्, यदि किसानबाट रेस्पोन्स राम्रो आयो भने खरिद गरेर किसानलाई अनुदान र सहुलियतमा वितरण गर्न मन्त्रालय तयार छ।’

साथै कृषि मन्त्री क्षेत्रीले कारखाना पुन सञ्चालनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा विनियोजन गरेको ५० लाख रुपैयाँ कृषि मन्त्रालयले छिट्टै कार्यविधी बनाएर केन्द्रलाई उपलब्ध गराउने प्रतिबद्धतापनि जनाए ।मन्त्री क्षेत्रीले कृषि औजार कारखाना पुन सञ्चालनका लागि केन्द्रलाई चाहिने सहयोग र साथ दिन मन्त्रालय सदैव तयार रहेकोपनि बताए ।

त्यसअवसरमा केन्द्रका ईन्जिनियर देवले कारखानामा अहिले परिक्षण र अनुसन्धानका क्रममा उत्पादन भइरहेका कृषि उपकरण र औजारहरु बारे मन्त्री क्षेत्रीलाई जानकारी गराएका थिए ।

उनका अनुसार, कारखानामा अहिले केन्द्रमा खटिरहेका ३० जना प्राविधिकहरुको टोलीले परिक्षण र अनुसन्धानका क्रममा धान रोप्ने र काट्ने मेसीन, आलु रोप्ने र गोड्ने मेसिन, घाँस काटेर मसिनो पार्ने कटर , गोबर पेलेर सुकाउने मेसिन ,केराको थामबाट फाइबर निकाल्ने मेसिन, पुश दाना बनाउने मेसिन, कोदो रोप्ने र काट्ने मेसिन, , कल्टिभेटर,कुटो, कोदालो, बञ्चरो, हँसिया, बेल्चा, थ्रेसर गरी झण्डै डेढ दर्जन प्रकारका उपकरण र औजारहरु उत्पादन गरिरहेको छ ।

ईन्जिनियर देवले प्रदेश सरकारले कारखानाका लागि चालु आर्थिक वर्षको बजेमा विनियोजन गरेको ५० लाख रुपैयाँ छिट्टै उपलब्ध गराउन माग गर्दै मन्त्री क्षेत्रीलाई लिखित आग्रहपत्रपनि बुझाएका थिए ।

त्यसअवसरमा वीगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्याय,नेविसंघका केन्द्रिय सदस्य सुरेन्द्र लामिछाने,कांग्रेस युवा नेता रामनिवाश यादव लगायतकाकोपनि सहभागिता थियो ।