बाराको गढिमाई मेलाका लागि संचालन तथा व्यवस्थापन समिति घोषणा

बारा। विश्वप्रसिद्ध गढिमाई मेलाको संचालन र व्यवस्थापनका लागि १ सय ११ सदस्यीय मुल समितिको घोषणा गरिएको छ। महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा गठित यस समितिको सार्वजनिकिकरण कार्यक्रम बरियारपुरस्थित गढिमाई मन्दिरको प्राङ्गणमा सम्पन्न भयो।समितिमा वडा नं १ का वडा अध्यक्ष मनोज कुमार गुप्ता, रामचन्द्र प्रसाद साह कानु, रामबाबु प्रसाद यादव, र कैलाश महतो उपाध्यक्षका रुपमा चयन भएका छन्। महासचिवको भूमिकामा बिरेन्द्र प्रसाद यादव, नरेश प्रसाद जयसवाल, र उपेन्द्र प्रसाद गुप्ता रहेका छन् भने सचिवमा उमरावती देवी लहेरीन र नितु कुमारी गुप्तालाई मनोनित गरिएको छ। कोषाध्यक्षको जिम्मेवारी बिरेन्द्र प्रसाद चौरसियालाई दिइएको छ।समितिमा विभिन्न पार्टीका १-१ जना प्रतिनिधि समेत रहेका छन्, जसमा कूल १ सय ११ सदस्यको सहभागिता छ। नगरप्रमुखका प्रमुख सल्लाहकार र नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादवले उक्त समितिका सदस्यहरूको नामावली घोषणा गरेका थिए।यस्तै, बारा जिल्लाबाट निर्वाचित संघीय सांसद, प्रदेश सांसद, पूर्व मन्त्री, प्रदेश सभा सदस्य, र उपमहानगरका प्रमुखहरू समेत २७ जनालाई मेलाको सल्लाहकारको रूपमा चयन गरिएको छ।यस पटकको गढिमाई मेला घटस्थापनाका दिन भव्य शोभा यात्रासहित सुरु हुनेछ, जसको अवधि अढाई महिना लामो रहने मुल समितिले जानकारी गराएको छ।

Advertisement