महासंघ पर्साका र वीरगञ्ज कलेज बीच सात बुँदे समझदारीपत्रमा हस्ताक्षर

 

अभिलाष गुप्ता
पौष १८ बिरगंज

Advertisement

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र बिरगंज कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । महासंघको सदस्यताका लागि प्लस टु सम्मको शैक्षिक योग्यता अनिवार्य गरिएको र बिरगंज कलेजले प्लस टु मा पत्रकारिता संकाय सञ्चालन गरेको हुँदा सम्झौता गरिएको अध्यक्ष खनालको भनाइ थियोे।

नेपाल पत्रकार महासंघ पर्सा र बिरगंज कलेज श्रीपुरबीच शैक्षिक सामाजिक र पत्रकारिता क्षेत्रको लागि सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार दुवै पक्षले पर्सा जिल्लाको शैक्षिक सामाजिक र अर्धराजनीतिक क्षेत्रमा प्रगतिका लागि संयुक्त प्रयास गर्ने सहमति गरेका छन् । शैक्षिक क्षेत्र सुधारका लागि बहस र अन्तरक्रियाका कार्यक्रमहरू आयोजना गरिनेछ भने पत्रकारिता क्षेत्र र पत्रकारहरूको दक्षता अभिवृद्धिमा विशेष पहल गरिने सम्झौता पत्रमा उल्लेख छ।

Advertisement

समझदारी अनुसार पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूको क्षमता विकासका लागि बिरगंज कलेजले पत्रकारिता विषयमा अध्ययनको विशेष व्यवस्था गर्नेछ । नेपाल पत्रकार महासंघ, पर्साका सदस्य तथा सञ्चारकर्मीले कक्षा ११ र १२ अध्ययनका लागि वार्षिक रु. पाँच हजारमा अध्ययन गर्न पाउनेछन् । यसबाहेक, राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन, परीक्षा शुल्क तथा प्रमाणपत्र शुल्क भने विद्यार्थी आफैंले व्यहोर्नुपर्नेछ ।

दुवै पक्षले स्थानीय सरोकारका विषयमा सकारात्मक परिवर्तनका प्रयासलाई प्राथमिकताका साथ समन्वय गर्ने र आवश्यकताअनुसार अन्य सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्ने सम्झौता भएको नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेलले जानकारी दिइन् । उपाध्यक्ष पौडेलकाअनुसार तीन शैक्षिक सत्रसम्म लागू हुने यस समझदारीलाई आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा थप समयावधि बढाउन सकिनेछ बताएका थिए।

Advertisement