पूर्वराष्ट्रपति युनलाई पक्राउ गर्न निवासमा पुग्यो सीआईओको टोली

काठमाडौं : 

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योललाई गिरफ्तार गर्न गएको भ्रष्टाचार विरोधी अनुसन्धान निकाय ‘सीआईओ’का अनुसन्धानकर्ताहरूको टोली राष्ट्रपति निवासको कम्पाउन्डभित्र प्रवेश गरेको छ। उच्चपदस्थ अधिकारीले गरेका भ्रष्टाचारको अनुसन्धान गर्ने निकाय सीआईओका अधिकारीहरू प्रहरी र अभियोजकको टोली सहित राष्ट्रपति निवासमा प्रवेश गरेका हुन्।टोलीलाई राष्ट्रपति निवासभित्र रहेको सेनाको टुकडीले रोकेको स्थानीय समाचारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार बिहान ८ बजेतिर करिब ८० जनाको टोली सहित सीआईओका अधिकारीहरू राष्ट्रपति निवासभित्र प्रवेश गरेको जनाइएको छ। देशमा ‘मार्शल ल’ अर्थात् सैन्य कानून घोषणा गरेको विषयमा सोधपुछ गर्नका लागि गत मंगलबार अदातले यून विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।यता यूनको गिरफ्तारी प्रयासको विरोधका लागि यून समर्थक सयौं प्रदर्शनकारीहरू राष्ट्रपति निवास नजिकै भेला भएको रोयटर्सले जनाएको छ। यूनका वकिलहरूले पक्राउ पुर्जी विरुद्ध उच्च अदालतमा निषेधाज्ञाका लागि आवेदन दिइसकेको छन्। यो पक्राउ पुर्जी जनवरी ६ अर्थात आगामी सोमबार सम्मका लागि मात्रै मान्य छ भने पक्राउ गरेपछि अनुसन्धानकर्ताहरूले उनलाई ४८ घण्टा मात्रै आफ्नो नियन्त्रणमा राख्न पाउने छन्। अनुसन्धानकर्ताहरूले त्यसपछि पनि उनलाई हिरासतमा राख्न चाहे अदालतको अनुमति लिनुपर्ने छ अन्यथा मुक्त गर्नुपर्ने छ।

Advertisement

यूनले डिसेम्बर ३ को मध्यरातमा घोषणा गरेको मार्शल ल ६ घण्टा मात्र टिकेको थियो। मार्शल ल घोषणा गरेको केही समयमै बसेको संसद्‌को आपत्लीन बैठकले उक्त घोषणा अमान्य रहेको निर्णय गरेपछि यून उक्त घोषणा फिर्ता लिन बाध्य भएका थिए।  डिसेम्बर १४ मा संसद्‌ले महाभियोग प्रस्ताव पारित गरेपछि यून निलम्बनमा परेका छन्। उक्त महाभियोग संवैधानिक अदातलमा विचाराधीन छ भने देशद्रोह र शक्तिको दुरुपयोग गरेको फौजदारी अभियोगमा समेत यून विरुद्ध अनुसन्धान भइरहेको छ।यून विरुद्धको महाभियोगमाथि संवैधानिक अदालतले आजै दोस्रो प्रारम्भिक सुनुवाइ गर्दै छ। संवैधानिक अदालतले यून विरुद्धको महाभियोग सदर गरेको अवस्थामा मात्रै यून पदमुक्त हुनेछन्। अन्यथा उनको पद जोगिने छ।

Advertisement