रौतहटमा बाढी नियन्त्रणमा लापरवाहीको विरोध, नदी नियन्त्रण कार्यालय रौतहटमै स्थापना गर्न माग

नबिन सिंह,असोज १५ गते । रौतहट जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा, बाराको परमानीपुरस्थित बागमती र लालबकैया नदी नियन्त्रण आयोजना कार्यालयको कार्यक्षमता र उदासीनताको तीव्र आलोचना गरिएको छ। बैठकमा सहभागी जनप्रतिनिधिहरू, नागरिक समाज, उद्योगी, र संचारकर्मीहरूले बाढी पूर्व कुनै तयारी नगर्ने र बाढीपछि पनि बांधहरूको मर्मत र व्यवस्थापनमा ध्यान नदिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। बैठकको मुख्य विषयवस्तु बाढीले रौतहटमा पुर्याएको जनधनको क्षति, प्रभावित व्यक्तिहरूलाई राहत व्यवस्थापन, र किसानहरूको धानबालीको क्षति थियो। बैठकमा सहभागीहरुले बागमती र लालबकैया नदी नियन्त्रण कार्यालयलाई रौतहटमा स्थापना गरिनुपर्ने माग गरेका छन्, किनकि रौतहटमा ठूलो नदीहरू छन् भने कार्यालय भने बारामा रहेको छ, जसले गर्दा समयमै काम हुन नसकेको गुनासो छ । नेकपा एमालेका जिल्ला इंचार्ज अजय कुमार गुप्ताले नदी नियन्त्रण कार्यालयले बाँध मर्मतमा ध्यान नदिएको र बाढीको समयमा तटबंध भत्किनुको कारण त्यसको लापरवाही भएको आरोप लगाए। नेकपा एकीकृत समाजवादी पार्टीका नेता रेवन्तन झाले नदी नियन्त्रण कार्यालयलाई रौतहटमै स्थानान्तरण गर्न जोड दिए। बैठकमा उपस्थित प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा, ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै, पीडितहरूलाई छिटोभन्दा छिटो राहत उपलब्ध गराउने, भएको क्षतिको विवरण संकलन गर्ने, र भत्किएको बाँधको तत्काल मर्मत गराउन आग्रह गर्ने निर्णयहरू पारित गरियो। बैठकमा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादव, र अन्य नगर प्रमुखहरू लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले पनि भाग लिएका थिए।

Advertisement