अभिलाष गुप्ता
माघ १८ बिरगंज
Advertisement
सडक दुर्घटनालाई न्यून गर्न सचेतनामूलक अभियानलाई तीव्रता दिने उद्देश्यसहित समृद्धि नेपाल फाउन्डेसनको आयोजनामा वीरगञ्जको माइस्थानस्थित गहवा मन्दिर परिसरमा प्रहरी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाइ, श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत, व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्की तथा विभिन्न स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको फाउन्डेसनकी सहसचिव श्रुति साहले जानकारी दिइन्।
Advertisement
सडक सुरक्षाका विषयमा जनचेतना अभिवृद्धि गर्न कार्यक्रमलाई प्रभावकारी बनाउन ४५ मिनेटको ट्राफिक सचेतनामूलक भिडियो सामग्री प्रदर्शन गरिएको थियो। उक्त भिडियोमार्फत सडक नियम पालना गर्ने तरिका, हेल्मेट तथा सिट बेल्टको अनिवार्यता, तीव्र गतिमा सवारी साधन नचलाउने, ट्राफिक संकेतहरूको पालना गर्ने लगायतका महत्वपूर्ण जानकारी प्रस्तुत गरिएकाे थियो।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक गौतम मिश्रले दुर्घटनाको मुख्य कारण लापरवाहीपूर्ण सवारी सञ्चालन रहेको उल्लेख गर्दै जनचेतना अभिवृद्धि गरेर मात्रै दुर्घटना नियन्त्रण गर्न सकिने बताए। उनले सडक सुरक्षामा प्रहरीको मात्र नभई आम नागरिकको पनि समान दायित्व रहेको उल्लेख गर्दै ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरे।
Advertisement
त्यस्तै, प्रहरी निरीक्षक लोकराज भट्टले ट्राफिक नियम उल्लंघनका कारण दिनानुदिन दुर्घटनाको जोखिम बढ्दै गएकाले यसलाई न्यून गर्न प्रहरी प्रशासनले विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराए। उनले सवारी चालक तथा यात्रुहरूलाई सचेत हुन आग्रह गर्दै विद्यालय, संघसंस्था र स्थानीय तहहरूसँग सहकार्य गरेर सचेतना अभिवृद्धि गरिने बताए।
समृद्धि नेपाल फाउन्डेसनकी सहसचिव श्रुति साहका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमहरूले समुदायमा सडक सुरक्षाका सम्बन्धमा सकारात्मक प्रभाव पार्ने भएकाले आगामी दिनमा समेत निरन्तरता दिइनेछ।




















प्रतिक्रिया