मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पूर्ण सञ्चालनमा

नेपाल–भारत अन्तरदेशीय मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना पूर्ण रूपमा सञ्चालनमा आएको छ । परियोजनाको दोस्रो चरण पूरा भएसँगै अब पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल पनि नेपाल भित्र्याइने भएको छ ।पहिलो चरणअन्तर्गत २०७६ भदौ २४ गतेदेखि डिजेल आयात सुरु गरिएको पाइपलाइन हाल प्रति घण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ ढुवानी गर्न सक्षम छ ।भारतको बिहार राज्यस्थित मोतीहारीदेखि बाराको अमलेखगञ्ज डिपोसम्म फैलिएको पाइपलाइनको दोस्रो चरण सम्पन्न भएसँगै नेपाल आयल निगमले पेट्रोल र मट्टितेलको वितरण औपचारिक रूपमा थालनी गरेको छ ।

अमलेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थको लोडिङ प्रक्रिया पूर्ण अटोमेसन गरिएको छ, जसका लागि २४ वटा लोडिङ वेमा ३६ वटा फिलिङ पोइन्ट निर्माण गरिएका छन् ।प्रादेशिक डिपो अमलेखगञ्जका प्रमुख प्रलंयकर आचार्यका अनुसार पाइपलाइनमार्फत पेट्रोल आयात सुरु भएसँगै नेपालको प्रमुख सहरका डिपोहरूमा आपूर्ति सहज हुनेछ ।नेपाल आयल निगमका अनुसार, पाइपलाइन सञ्चालनमा आएपछि ट्याङ्करमार्फत गरिँदै आएको झन्डै ८० प्रतिशत पेट्रोलियम पदार्थको ढुवानी प्रतिस्थापन हुनेछ । साथै, ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीसमेत न्यून हुँदै आपूर्ति प्रणाली प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

Advertisement