वीरगञ्ज न्युरो एन्ड जनरल अस्पतालमा थ्रोम्बोलाइसिस प्रक्रियाबाट उपचार सुरु
अभिलाष गुप्ता
चैत ०४ वीरगञ्ज
Advertisement
वीरगञ्ज महानगरपालिका स्थित वीरगञ्ज न्युरो एन्ड जनरल अस्पतालमा थ्रोम्बोलाइसिस प्रक्रियाबाट उपचार सुरु भएको छ ।पत्रकार सम्मेलनको आयोजना गर्दै वीरगञ्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार सुरु भएको अस्पतालका प्रमुख डा. श्याम बाबु प्रसादले दाबी गरेका छन। उनले मधेस प्रदेशको स्वास्थ्य क्षेत्रका लागि यो ठूलो उपलब्धि भएको समेत बताए ।
डा. श्याम बाबुले वीरगञ्ज न्युरो र जनरल अस्पतालमा हालसम्म तीन जना बिरामीलाई थ्रोम्बोलाइसिस प्रक्रियाबाट सफलतापूर्वक उपचार गरिसकेको जानकारी दिए । वीरगञ्जमा यसअघि थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार भएको कुनै रेकर्ड नभएको उल्लेख गर्दै उनले भने, यो वीरगञ्जको चिकित्सा क्षेत्रका लागि एउटा ठूलो कदम हो ।थ्रोम्बोलाइसिस एउटा यस्तो चिकित्सा प्रक्रिया हो जसमा मस्तिष्कमा रक्तसञ्चार बन्द गर्ने रगतको थक्का हटाउन अथवा पगाल्न औषधि प्रयोग गरिन्छ । थ्रोम्बोलाइसिस इस्केमिक स्ट्रोकको उपचारका लागि प्रभावकारी मानिन्छ । मस्तिष्कमा रगत पुर्याउने धमनीमा अवरोध भएपछि इस्केमिक स्ट्रोक हुने गरेको छ ।
Advertisement
डा. श्याम बाबुले थ्रोम्बोलाइसिस उपचारका लागि बिरामीले लक्षण देखिएको चार घण्टा तीस मिनेटभित्र अस्पताल पुग्नुपर्ने बताए ।थ्रोम्बोलाइसिस उपचारका फाइदाहरूबारे बोल्दै डा. श्याम बाबुले उपचारको सम्भावित जोखिमहरूबारे पनि चर्चा गरे । यसमा विशेष गरी मस्तिष्कमा रक्तस्राव हुने खतरा हुन सक्ने उनले बताए । साथै, हेमोरेजिक स्ट्रोक (रक्तस्रावबाट हुने स्ट्रोक), हालै शल्यक्रिया गरेका बिरामी वा रक्तस्रावको जोखिम बढाउने औषधि खाइरहेका व्यक्तिहरूका लागि थ्रोम्बोलाइसिस उपचार उपयुक्त नहुने उनले प्रस्ट पारे । बिरामीको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो।
डा. श्याम बाबुले थ्रोम्बोलाइसिस उपचार नेपाल सरकारबाट स्वीकृत भएको र अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनहरूले समेत मान्यता दिएको जानकारी गराए । बजारमा उपलब्ध अन्य थ्रोम्बोलाइटिक औषधिहरूको विकल्प पनि रहेको उनले उल्लेख गरे ।
Advertisement
वीरगञ्जमा थ्रोम्बोलाइसिसको सुरुवातलाई यहाँको स्वास्थ्य क्षेत्रमा एउटा कोसेढुंगा मानिएको छ । इस्केमिक स्ट्रोक उपचारका लागि बिरामीहरूलाई अब राजधानी काठमाडौँ अथवा भारतको ठूलो सहर जानुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।
पत्रकार सम्मेलनमा उनले जनता र स्वास्थ्यकर्मीहरूलाई थ्रोम्बोलाइसिस सेवाबारे जानकारी फैलाउन आग्रह गरे । यदि कसैलाई वा उनीहरूका आफन्तलाई इस्केमिक स्ट्रोक भएको छ भने, चार घण्टा तीस मिनेटभित्र वीरगञ्ज न्युरो र जनरल अस्पतालमा आएर विश्व स्तरीय उपचार लिन सक्छन पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।




















प्रतिक्रिया