वीरगञ्ज चिनी कारखाना अब पुनः सञ्चालनमा आउन नसक्ने : मन्त्री सिंह

मंसिर १, वीरगञ्ज । दुई दशक देखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना अब पुनः सञ्चालनमा आउन नसक्ने मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले बताउनु भएको छ । शनिबार वीरगञ्जमा आयोजित नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति पर्साको प्रथम जिल्ला परिषद्को उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस पर्साका सभापतिसमेत रहेका मन्त्री क्षेत्रीले वर्तमान अवस्थामा चिनी कारखाना पुनः सञ्चालन गर्ने विषय व्यावहारिक रुपमा सम्भव नभएको बताउनु भयो ।

मन्त्री क्षेत्रीले नेपाल ट्रेड युनियन कांग्रेसले उद्योग-कलकारखानामा कार्यरत मजदुरहरूको मात्र नभई अन्य पेशागत श्रमिकहरूको पनि हकहितका लागि आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहको अध्यक्षता र मन्त्री क्षेत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूर्वमन्त्री ओमप्रकाश शर्मा, प्रदेशसभा सदस्य श्याम पटेल, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, सचिव इम्तियाज आलम, तथा नेताहरू राजकृष्ण अमात्य, शान्ति कार्की, धर्मेन्द्र कुमार पटेल, साहबुदिन अन्सारी लगायतका व्यक्तिहरूको सहभागिता थियो।

Advertisement