नागरिक न्युज डेस्क,०८ चैत्र,कञ्चनपुर :
तीव्ररूपमा भइरहेको शहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घटिरहेको छ। पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो। ‘भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो। घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए। अहिले ती सबै विगत भइसके’, शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिलेजस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन्।’ आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन्।तीव्र रूपमा भइरहेको सहरीकरणलाई उहाँ भँगेरा विनासको कारण मान्छन्। भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि सङ्ख्या घट्दै जानु स्वाभाविक भएको उहाँको भनाइ छ। भँगेराको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको उनले बताए।चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ। प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ। विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेको समेत पाइएको छ। ‘ध्वनि प्रदूषणले पनि भँगेरालाई असर गर्छ”, उहाँले भन्नुभयो, ‘खेतबारीमा किसानले विषादिको अत्यधिक प्रयोग गर्दा भँगेरा मर्ने गरेका छन्।’
Advertisement
खेतबारीमा हुने कीरा विषादीका कारण मर्ने गरेकाले भँगेरालाई आहारा पनि कम हुँदै गएको उनले बताए। काग, बिरालो, अन्य सिकारी चराले भँगेराको सिकार गर्ने भएकाले पनि सङ्ख्यामा कमी देखिएको उनले बताए। उनका अनुसार भँगेरा जैविक विविधता र इकोसिष्टमका लागि महत्त्वपूर्ण छ। भँगेरा जोगाउन घरघरमा गुँड लगाउन सक्ने व्यवस्था गरिनुपर्छ। गुँड लगाउने वातावरण बनाउने कार्यसँगै छानामा दाना र पानीको व्यवस्थाजस्ता ससाना कार्य गरे भँगेरालाई जोगाउन सकिन्छ।भँगेरा जोगाउन किसानले संयमतापूर्वक विषादीको प्रयोग गर्नुपर्ने सल्लाह उनी दिन्छन्।। चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ। योस वर्ष भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ (आई लभ स्प्यारो) थियो।



















प्रतिक्रिया