नागरिक न्युज डेस्क, चैत्र ११,पर्सा । ठाकुर राम बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको रोकिएको मतगणना यथाशीघ्र सुचारु गर्नुपर्ने विषयमा पर्साका प्रमुख राजनीतिक दलहरू एकमत भएका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजना सर्वदलीय बैठकमा दलहरूले मतगणना प्रक्रिया निरन्तर गर्नुपर्ने निष्कर्ष निकालेका छन् । बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले फर्जी शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थी भर्ना गर्ने गिरोहलाई कडा कारबाही गर्नुपर्ने र मतपेटिकाको नम्बर परिवर्तनसम्बन्धी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग राखे । उनले बाकसमा खसिसकेको मतको सम्मानपूर्वक गणना गर्नुपर्नेमा कुनै द्विविधा नरहेको बताए ।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दोषी जोसुकै भए पनि प्रशासन कारबाही गर्न पछि नहट्ने प्रतिबद्धता जनाउँदै फर्जी प्रमाणपत्रको आधारमा विद्यार्थी भर्ना गर्ने कार्यको जरासम्म पुगेर निर्मम कारबाही गरिने बताए ।मतपेटिका सुरक्षाको सन्दर्भमा पर्साका प्रहरी प्रमुख गौतम मिश्र र सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा हेडक्वार्टर गणपति राधेश्याम धितालले कुनै गम्भीर त्रुटि नभएको स्पष्ट पारे ।बैठकमा एमाले पर्सा अध्यक्ष डा. विश्वम्भर शर्मा, नेपाली काँग्रेसका प्रवक्ता पाण्डे र नेता नवीन सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि पन्त, जसपाका सिंहासन तेली, तबरेज अहमद, माओवादीका प्रभाकर गुप्ता, समाजवादीका मनोज चौधरीलगायत नेताहरूको उपस्थिति रहेको थियो । सर्वदलीय सहमतिपछि अब ठाकुर राम क्याम्पसको रोकिएको मतगणना छिट्टै सुचारु हुने अपेक्षा गरिएको छ ।



















प्रतिक्रिया