मनोज कुमार मिश्र, न्युज डेस्क, चैत्र १२,पर्सा : वीरगञ्जमा गहवामाई माताको दोस्रो डोली यात्रा यही चैत २३ गते निकालिने भएको छ । वीरगञ्जको प्रमुख शक्तिपिठ गहवामाई मन्दिरबाट गत वर्षदेखि गहवामाई माताको डोली यात्रा निकाल्न थालिएको हो ।
यस वर्ष पनि चैत २३ गते शनिवारका दिन गहवमाईको दोस्रो डोली यात्रा निकाल्न लागिएको माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिए ।चैत २३ गते अर्थात् चैते दसैँको अष्टमीका दिन निकालिने डोली यात्राका लागि तयारी सुरु भइसकेको जानकारी पनि उनले दिए ।उनका अनुसार, चैत २३ गते शनिवारका दिन अपराह्न ४ बजे गहवामाई मन्दिरको प्राङ्गणबाट निशानसहित गहवामाईको डोली यात्रा सुरु हुनेछ । त्यसअघि दिउँसो २ बजे गहवामाईको डोली र निशानको विशेष पूजा हुनेछ । त्यसपछि २ नम्बर रोड,बिर्ता मन्दिर हुँदै त्यहाँबाट अलखीयामठ, महावीरस्थान, माईस्थानको चोक परिक्रमा गर्दै डोली यात्रा पुन गहवामाई मन्दिर प्राङ्गणमा पुगेर समापन हुनेछ ।डोली यात्रापछि शनिवार नै साँझ गहवामाई मन्दिर अगाडि महाआरतीको कार्यक्रम रहेको अध्यक्ष साहले बताए । डोली यात्रामा सहभागी हुने भक्तजनहरूलाई गहवामाईको तस्बिर अङ्कित निशान यसपालि पनि वितरण गरिने उनले जानकारी दिए । यात्राको सहयोग स्वरूप प्रति निशानको शुल्क ३ सय ५ रुपैयाँ तोकिएको साहले बताए । उनका अनुसार, गत वर्षको पहिलो डोली यात्रामा ६ सय ५० वटा निशान वितरण गरिएको थियो ।



















प्रतिक्रिया