नागरिक न्युज डेस्क,चैत्र १४, पर्सा : ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणनामा सभापति पदका उम्मेदवार राजकुमार यादवसहितको प्यानल विजयी भएको छ । लामो समयको विवाद र तनावबिच बुधवारदेखि पुनः सुरु भएको मतगणनाको अन्तिम परिणाम अनुसार, ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा राजकुमार यादवसहितको प्यानल विजयी भएको हो ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्गठन (नेविसंघ) बाट रुष्ट भएर स्वतन्त्र नेपाल विद्यार्थी समूह बनाएर निर्वाचनमा उत्रिएका राजकुमारले नेविसंघ कै सभापति उम्मेदवार विकास मण्डल धानुकलाई ४६२ मतको अन्तरले पराजित गरेका हुन् ।मतगणनाको अन्तिम परिणाम अनुसार राजकुमारले १११५ मत पाउँदा विकासले केवल ६५३ मत पाएको ठाकुररामको स्ववियु निर्वाचन अधिकृत दिलीप कुमार सिंहले जानकारी दिए । त्यस्तै ५६२ मतका साथ जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका हरि किशोर यादव तेस्रो, ४५० मतका साथ सुधीर पटेल समूहबाट सभापति पदका उम्मेदवार कमलेश कुमार यादव चौथो र ३८६ मतका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पवन यादव पाँचौं भएको सिंहले जानकारी दिए । ठाकुरराम बहुमुखी क्याम्पसमा रहेका कुल १०,७२९ मतदातामध्ये ४,२९९ जनाले मतदान गरेको उनले बताए ।
नेविसंघबाट बागी बनेर उम्मेदवारी दिएका राजकुमारको जितले सङ्गठनभित्रको आन्तरिक विद्रोह र विद्यार्थीहरूको रुझानलाई स्पष्ट गरेको छ । नेविसंघको औपचारिक समर्थन पाएका विकासले राजकुमारको लोकप्रियतासँग प्रतिस्पर्धा गर्न नसकेको मतपरिणामले देखाएको छ ।निर्वाचन प्रक्रियामा मतपेटिका साटिएको, फर्जी भर्नाको आरोप र सङ्गठनहरूबिचको मतभेदले मतगणनालाई जटिल बनाएको थियो । विद्यार्थीहरूले क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवको पुत्ला जलाउनुका साथै वीरगञ्जमा वृहत् र्याली निकालेर विरोध जनाएका थिए । यद्यपि, मतगणना सुचारु भएसँगै १६ वर्षदेखिको स्ववियु नेतृत्वको रिक्तता समाप्त भएको छ ।ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ यता स्ववियु नेतृत्व चयन हुन सकेको थिएन ।



















प्रतिक्रिया