नागरिक न्युज डेस्क,चैत्र १८, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी र विद्यार्थीबिच विभिन्न सामाजिक घटनासम्बन्धी एक दिवसीय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।कार्यक्रममा वीरगञ्जको पानीटंकीमा अवस्थित डेसिमल कलेजको कानुन सङ्कायमा अध्ययनरत ६० जना विद्यार्थीले सहभागिता जनाएको कार्यक्रममा प्रहरी कार्यालयका विभिन्न फाँटहरूको अवलोकन गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले डेसिमल कलेजका संस्थापक अध्यक्ष सन्नी दुबेसहित सहभागी विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।एसपी मिश्रले जिल्ला प्रहरी कार्यालय पर्साबाट कार्यालयबाट प्रदान गरिने सेवाहरू, नागरिक सुरक्षामा प्रहरीको भूमिका र सामाजिक घटनाहरूको रोकथाममा युवाहरूको सहभागिताबारे विस्तृत जानकारी गराए । “हाम्रो उद्देश्य भनेको विद्यार्थीहरूलाई प्रहरीको काम-कारबाहीबारे प्रत्यक्ष अनुभव गराउनु र उनीहरूको सहयोगमा समाजमा शान्ति-सुरक्षा कायम गर्नु हो,” एसपी मिश्रले भने।कार्यक्रममा डेसिमल कलेजका संस्थापक अध्यक्ष सन्नी दुबेले प्रहरी र विद्यार्थीबिचको संवादले कानुनको अध्ययन गरिरहेका विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्राप्त गर्न सहयोग पुगेको बताए । “आजको पहलले हाम्रा विद्यार्थीहरूलाई प्रहरीको दैनिक कार्य प्रणाली र चुनौतीहरू बुझ्ने अवसर दिएको छ । यस्ता कार्यक्रमले उनीहरूको शैक्षिक यात्रामा ठूलो योगदान पुर्याउनेछ,” दुबेले भने ।कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालयका विभिन्न फाँटहरूको अवलोकन समेत गरेका थिए । अवलोकनका क्रममा उनीहरूले अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिका सेल र सामुदायिक प्रहरी सेवाको बारेमा जानकारी लिए । त्यसपछि प्रहरी एसपी मिश्रको कार्यकक्षमा आयोजित एक घण्टे संवाद सत्रमा विद्यार्थीहरूले विभिन्न शीर्षकमा प्रश्न र जिज्ञासा राखेका थिए । संवादमा अपराध नियन्त्रण, साइबर सुरक्षादेखि सामाजिक जागरूकतासम्मका विषयमा छलफल भएको थियो ।



















प्रतिक्रिया