नागरिक न्युज डेस्क, चैत्र २० पर्सा । नेकपा एमालेले गणतन्त्रको समर्थनमा तथा राजतन्त्रको विरोधमा बुधबार वीरगञ्जमा बृहत् शक्ति प्रदर्शन गरेको छ । राजावादी गतिविधिहरूको विरोधमा खबरदारी गर्न आयोजित मोटरसाइकल जुलुसले वीरगञ्जका मुख्य सडकहरूमा एमालेको प्रभावशाली उपस्थिति देखाएको हो । वीरगञ्जको पावरहाउस चोकबाट सुरु भएको मोटरसाइकल ¥याली मुर्ली, घण्टाघर, रेल्वेरोड, छपकैया, आदर्शनगर र घडिअर्वा हुँदै पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। सभामा एमालेका नेताहरूले राजतन्त्र फर्काउने प्रयासविरुद्ध चेतावनी दिएका थिए।
कोण सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद प्रभु हजराले पछिल्लो समय राजावादीहरू सक्रिय हुन थालेको भन्दै सडकमै शक्ति प्रदर्शन गर्नु परेको बताए । कार्यक्रमको अध्यक्षता एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले गरेका थिए । कोणसभालाई संविधानसभा सदस्य विचारी यादव सहितका नेताहरूले पनि सम्बोधन गरेका थिए । एमाले जिल्ला सचिव महेश दासका अनुसार यो शक्ति प्रदर्शनले गणतन्त्रप्रति पार्टीको अटूट प्रतिबद्धता र राजावादी गतिविधिहरूको विरोधमा जनमत सिर्जना गर्ने उद्देश्य राखेको थियो । स्थानीय नेताहरूका अनुसार यस प्रदर्शनले वीरगञ्जमा एमालेको संगठनात्मक शक्ति प्रदर्शन गर्नुका साथै गणतन्त्रप्रति जनताको बलियो समर्थन रहेको सन्देश प्रवाह गरेको छ ।



















प्रतिक्रिया