गोल्डेन गेटलाई पराजित गर्दै कव्या एकेडेमी बिजयी

नागरिक न्युज देस्क,चैत्र २६, वीरगञ्ज : नारायणी रङ्गशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) वीरगञ्ज महानगरको आयोजनामा जारी टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा काव्या एकेडेमीको गर्ल्स टिमले वीरगञ्ज गोल्डेन गेटलाई पराजित गर्दै शानदार जित हासिल गरेको छ ।

दोस्रो दिनको खेलमा गोल्डेन गेटले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । उसले निर्धारित २० ओभरमा ७६ रन बनाउँदै काव्या एकेडेमीलाई ७७ रनको लक्ष्य दिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको काव्या एकेडेमीले ९ ओभर ३ बलमा लक्ष्य पार गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।खेलमा काव्या एकेडेमीकी रागिनी चौरसियाले उत्कृष्ट प्रदर्शन गर्दै ३१ बलमा ३१ रन बनाइन् र प्लेयर अफ द म्याचको उपाधि जित्न सफल भइन् । प्रतियोगिताको उद्घाटन हिजो वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह र जीएचपी स्कुलकी प्रधानाध्यापक रोमी कौरले क्रिकेट खेलेर गरेका थिए । प्रतियोगितामा २९ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ ।फाइनल खेल यही वैशाख ४ गते सम्पन्न हुने कार्यक्रम रहेको छ । प्रतियोगिताले विद्यार्थीहरूबीचको खेल कौशल विकाससँगै आपसी सद्भाव र सहकार्यलाई पनि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

Advertisement