नागरिक न्युज डेस्क,चैत्र २७,काठमाडौं : नेपालले चारदेशीय टी–२० आई सिरिजमा विजयी सुरुआत गरेको छ ।

Advertisement
नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकाल्यो। कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहितकुमार पौडेलले अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमदले अविजित ३० रन बनाए।

Advertisement
पहिलो विकेटका लागि कुशल र आसिफले ८१ र तेस्रो विकेटका लागि रोहित र बसिरले अविजित ६२ रनको साझेदारी गरे। कतारका लागि दुवै विकेट मुजिबउर रहमानले लिए। त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो।

Advertisement
कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे। यसैगरी शहजाद जामिलले ३१, मुजिबउर रहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगा गणेश नागराजनले १३ रन बनाए। नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिए।

प्रतियोगितामा आजै आयोजक हङकङ र कुवेतले खेल्नेछन्। नेपालले भोलि कुवेतसँग खेल्नेछ भने शनिबार आयोजक हङकङसँग खेल्ने तालिका छ।तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन्। फाइनल खेल आगामी आइतबार हुनेछ। सोही दिन तेस्रो र चौथो स्थानका टोली एक आपसमा भिड्ने छन्।




















प्रतिक्रिया