वीरगञ्जको सद्भाव खल्बल्याउने घटनामा मन्त्री गुप्ताको ध्यानाकर्षण, दोषीमाथि छानबिन र कारबाहीको निर्देशन

नागरिक न्युज डेस्क,बैशाख ०३,वीरगञ्ज । हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडपले सिर्जना गरेको तनाव र त्यसपछि विकसित घटनाक्रमप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण भएको छ । धार्मिक, साँस्कृतिक तथा जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रकट गर्नु सबै नागरिकको मानवीय कर्तव्य भएको उल्लेख गर्दै मन्त्री गुप्ताले समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको आवश्यकता रहेको बताएका छन् ।झडपपछिको अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुप्ता निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग सम्पर्कमा रहेको मन्त्री गुप्ताका प्रेस सल्लाहकार कृष्णप्रसाद कुशवाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । घटनाका दोषीहरूलाई पहिचान गरी कानूनी दायरामा ल्याउन उनले प्रहरी प्रशासनलाई कडा निर्देशन दिएका छन् ।“कुनै पनि वहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य दुःखद र चिन्ताजनक हो । नागरिकहरूले एकअर्काको धार्मिक विश्वास र आस्थाप्रति सम्मान जनाउनु नै सहअस्तित्वको आधार हो,” मन्त्री गुप्ताले भनेका छन् ।झडपपछि दुवै समुदायका प्रतिनिधिहरू र विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक बसेर घटनाको समिक्षा गरिएको थियो । उक्त बैठकबाट तयार भएको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरेका छन् ।मुलुककै आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा परिचित वीरगञ्जमा सामाजिक सद्भावमा खल्बल ल्याउने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले सबै वीरगञ्जवासीलाई संयमित र सजग रहन अनुरोध समेत गरेका छन् ।

Advertisement