नागरिक न्युज डेस्क,बैशाख ०५ गते पर्सा: मधेस प्रदेश मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक अस्पताल सिराहाको अनुगमन निरीक्षण गरेका छन् ।बिहीबार अबेर साँझ मुख्यमन्त्री सिंहले सिराहा अस्पताल पुगेर त्यहाँबाट प्रदान गरिने सेवा सुविधाका विषयमा जानकारी लिएका हुन् । अस्पतालको आकस्मिक कक्षलगायत विभिन्न विभागमा उपलब्ध जनशक्ति, औषधि उपकरणको उपलब्धता र चिकित्सकीय सेवाका लागि अपनाइने तत्परता र गुणवत्ता समेतको जानकारी मुख्यमन्त्री सिंहले लिएका छन् ।
अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले अस्पतालका सेवा सुविधाको प्रभावकारिता वृद्धि र सेवा तथा संरचना विस्तार गर्न प्रदेश सरकारले आवश्यकताअनुसार बजेट विनियोजन गर्ने बताए ।
उनले सिराहा अस्पतालको सेवा क्षेत्रले ठूलो जनसङ्ख्या ओगटेको भन्दै अस्पतालका कमीकमजोरी औँल्याएर सुधार गरिने प्रतिबद्धता व्यक्त गरे । उनले देश र प्रदेशको अर्थतन्त्र अनुकूल नभएको र प्रदेशको अर्थतन्त्र थप कमजोर रहेका बेला आठ वटै जिल्लाका स्वास्थ्य संस्थाका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने अवस्था रहेको भन्दै सिराहास्थित प्रादेशिक अस्पतालका लागि ठुलै रकम विनियोजन गर्न नसकिए पनि आवश्यकताअनुसार बजेट उपलब्ध गराउँदै जाने उल्लेख गरे ।
उनले अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति तत्काल प्रदेश स्वास्थ्य निर्देशनालय र क्रमिक रूपमा अन्य प्रक्रियाबाट समेत व्यवस्थापन गरिने बताए । मुख्यमन्त्री सिंहले अस्पतालको सरसफाइ लगायतका आधारभूत व्यवस्थापनमा अस्पताल प्रशासनसँगै नागरिकले समेत आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए । उनले एक बिरामीमा धेरै कुरुवा हुँदा समेत समस्या सिर्जना हुने भन्दै त्यसतर्फ बिरामीका आफन्तलाई पनि सजगता अपनाउनुपर्ने आग्रह गरे ।



















प्रतिक्रिया