वीरगञ्जमा शङ्खधर साख्वा पार्कको भव्य उद्घाटन

जेष्ठ २५, पर्सा । नेपाल संवतका प्रवर्तक तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा निर्माण गरिएको शङ्खधर साख्वा पार्क शनिबार साँझ वीरगञ्जमा एक भव्य समारोहबीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। हरि खेतान क्याम्पस अगाडि अवस्थित यस नवनिर्मित पार्कको उद्घाटन खानेपानी मन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह तथा अन्य विशिष्ट व्यक्तित्वहरूको संयुक्त उपस्थितिमा वेलुन उडाएर गरिएको हो।उद्घाटन समारोह साँझ ७:३० बजे सुरु भएको थियो, जसमा स्थानीय व्यापारी, शिक्षा क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, नगर प्रहरी, तथा शङ्खधर साख्वा स्मृति प्रतिष्ठानका सदस्यहरू लगायत विशिष्ट नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।कार्यक्रममा प्रमुख अतिथिहरूले शङ्खधर साख्वाको ऐतिहासिक योगदानको स्मरण गर्दै वीरगञ्जमा यस्ता सार्वजनिक स्थलहरूको विकासले सामाजिक, सांस्कृतिक तथा शहरी सौन्दर्यमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। नगर प्रमुख राजेशमान सिंहले आगामी दिनमा यस्ता थप स्थानहरूको विकासमा महानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे।पार्कमा हरियाली क्षेत्र, विश्रामस्थल, बालबालिकाका लागि खेलकुद क्षेत्र, तथा रातिको समयमा पर्याप्त उज्यालो व्यवस्था जस्ता सुविधाहरू समावेश गरिएको छ। खुला स्थानको अभाव भइरहेका बेला यो पार्क स्थानीयवासीका लागि मनोविनोद तथा विश्रामको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास लिइएको छ।पार्क आइतबार (जेठ २५ गते)देखि सर्वसाधारणका लागि खुला गरिने जानकारी आयोजक पक्षले जनाएको छ। यस पार्कले वीरगञ्जमा थप सांस्कृतिक र पर्यटन आकर्षण थप्ने अपेक्षा गरिएको छ।

Advertisement