
जेष्ठ २५, पर्सा । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ निवासी ७२ वर्षीय ध्रुवसिंह ठकुरी करिब ५० वर्षदेखि भोजपुरी लोक संगीतमा सक्रिय छन्। ठकुरी २०२९ सालमा स्थापित नेपाल भोजपुरी समाजको केन्द्रीय अध्यक्षसमेत हुन्। उनी शास्त्रीय गायकको रूपमा परिचित छन्। ठकुरीको सबैभन्दा चर्चित भोजपुरी गीत ‘गोरी आव हो, आइल वसन्त बहार’ र ‘इहावा बा कुशल मंगल उहाँवा के चाही साल नियराइल, आइल चिठी एको नाही’ यी गीत यसआसपासमा चर्चित रहेको छ। उनी यति मात्र होइन आफ्नै घरमा भोजपुरी भाषामा गीतसंगीत सिकाउँदै आएका छन्। वीरगन्जका साहित्यकार रितु राजका अनुसार पहाडी समुदायका ठकुरी भोजपुरी मात्र बोल्दैन , भोजपुरी गीत, गायन, वाचन गर्दा दर्शकलाई झुमाउनेसमेत गरेका छन्। अर्का साहित्यकार श्याम सरार्फका अनुसार विगत ५ वर्षदेखि ठकुरीलाई भोजपुरी गायकको माध्यमले चिन्दै आएको सुनाए। उनको गायन सुन्नलाई यसआपसपासका क्षेत्रमा सरार्फ आफैँ पुग्ने गरेको बताउँछन्। नेपाल भोजपुरी समाजका सचिव राजेन्द्र सिंहका अनुसार अल इन्डिया रेडियोमा पनि काम गरेका ठकुरी उपराष्ट्रपतिबाट पनि सम्मानित भएक छन्। उनले नेपालका प्रथम उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट सम्मानपत्र पाएको सचिव सिंहले बताए।
Advertisement
सचिव सिंहले ठकुरीको भोजपुरी भाषामा लगाव धेरै रहेको छ, भोजपुरी भाषा उत्थानका लागि उक्त समयमा धेरै कम संख्या रहेको थियो। जुन वेला उनी भोजपुरी भाषालाई प्रोत्साहन गर्नका लागि जुटेको सुनाउँछन्। अहिले नेपाल भोजपुरी समाजका अध्यक्षका रूपमा देशका विभिन्न विद्यालय, समुदायमा पनि सहभागी भएर कार्यक्रम आयोजना गर्दै आएका छन्।केही वर्षअगाडि उनी नेदरल्यान्डबाट आएका भोजपुरी सरणामी गायक राजमोहनसँग पनि आफ्नो प्रस्तुति, प्रतिभा देखाइसकेका छन्। उनलाई यहाँका साहित्यप्रेमीहरू भोजपुरी लोक गायनमा आदर्शकै रूपमा लिने गरेको नेपाल भोजपुरी समाजका सचिव सिंह बताउँछन्।
भोजपुरीमा किन लागे ठकुरी
Advertisement
उनीनिकट रहेर करिब एक दशकदेखि काम गर्दै आएका साहित्यकार रितु राजका अनुसार वीरगन्जमै जन्मिएका ठकुरी सुरुदेखि नै भोजपुरी भाषासँग घुलमिल हुन पाएका हुन्। यहाँको भोजपुरी भाषा नै मातृभाषा भएपछि उनलाई खासै यो भाषा बोल्न समस्या भएको थिएन।सानो उमेरदेखि नै भोजपुरी बोल्न लागेका ठकुरीलाई गीत संगीत गाउन र सुनेर बुझ्न समस्या नभएको रितु राज बताउँछन्।सानैदेखि घरमा नेपालीमा बोल्दै आएको भए पनि अहिले भोजपुरी भाषालाई प्रोत्साहन गर्न कहिले पनि कन्जुस्याइँ नगरेको साहित्यकार राज बताउँछन्।आजभोलि उनका परिवारका सदस्यहरूले पनि भोजपुरी भाषामा बोल्न थालेका छन्। उनका अनुसार ठकुरीबाट प्रभावित भएर अहिले अधिकांश पहाडी समुदायका स्थानीयहरू भोजपुरी भाषा बोल्दै आएका छन्।भोजपुरी समाज , संस्कृति , संगीतप्रति अटुट समर्पण रहेको यहाँका साहित्यकारहरूले बताउने गरेका छन। ठकुरीको पहलमा वीरगन्जमा टेली फिल्म जानकी पनि निर्माण भएको साहित्यकार रिजु राज बताउँछन्। नयाँ पत्रिकाबाट साभार
स्टोरी तिवारी यादव





















प्रतिक्रिया