नवलपुर, भदौ १० गते । चालु आर्थिक वर्षको एक महिनामा नवलपुरमा १७३ जनालाई सर्पले डसेको छ। जिल्लामा एक महिनामा सबैभन्दा बढी विनयी त्रिवेणी गाउँपालिकामा ८३ जना र कावासोती नगरपालिकामा ८१ जनालाई सर्पले डसेको प्रादेशिक जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो।
त्यस्तै, देवचुलीमा सात तथा बौदीकाली र बुलिङटारमा एक–एक जनालाई सर्पले डसेको छ। तीमध्ये नौ जनालाई विषालु सर्पले डसेको र अहिलेसम्म कसैको पनि मृत्यु नभएको चापागाईंले जानकारी दिनुभयो।
Advertisement
आर्थिक वर्ष २०८२/८३ मा सर्पदंशका ९७३ बिरामी उपचारका लागि आएका थिए। तीमध्ये ३७ जनालाई विषालु सर्पले डसेको थियो।
नवलपुर सर्पदंशको उच्च जोखिममा रहेको जिल्ला हो। सर्पबाहेक अन्य जनावरको टोकाइका कारण उपचारका लागि आउनेको संख्या भने एक हजार ४५ रहेको कार्यालय प्रमुख चापागाईंले बताउनुभयो। सर्प वा अन्य जनावरको टोकाइबाट बिरामी भएकालाई स्थानीय तहका अस्पतालमा उपचार गराउने गरिएको छ।
Advertisement
गम्भीर बिरामीलाई मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार गर्ने र त्यहाँ उपचार सम्भव नभएकालाई चितवन रेफर गर्ने गरिएको मध्यविन्दु प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताउनुभयो।
आचार्यका अनुसार अस्पतालमा उपचारका लागि आउने सर्पदंशका बिरामीको संख्या दैनिक बढिरहेको छ। वैशाखदेखि असोजसम्म सर्प बाहिर निस्कने र डस्ने समस्या बढी हुने भएकाले सतर्क रहन उहाँले सुझाव दिनुभयो।
Advertisement
सर्पले डसेमा के गर्ने ?
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आचार्यका अनुसार सर्पले डसेमा बिरामीलाई स्थिर राख्दै आश्वस्त पार्नुपर्छ। प्रभावित अंगलाई नचलाइ स्थिर राख्नुपर्छ। हिँडडुल गर्दा विष शरीरका अन्य भागमा छिटो फैलिन सक्ने भएकाले बिरामीलाई हिँडाउने वा दौडाउने गर्नुहुँदैन।
छिटो अस्पताल पुग्ने नाममा आफैँले मोटरसाइकल चलाउनु हुँदैन। अरू कसैको सहारामा बिरामीलाई सकेसम्म छिटो अस्पताल पुर्याउनुपर्छ।
त्यस्तै, सर्पले डसेपछि पानी पिउन वा पिलाउन नहुने डा. आचार्यले बताउनुभयो। टोकेको ठाउँमा सुन्निनुअघि औँठी, घडी तथा टाइट लुगा फुकाल्न उहाँले सुझाव दिनुभयो।














प्रतिक्रिया