घडिअर्वा पोखरीमा विपद्‌ व्यवस्थापन अभ्यास को आयोजना

कन्हैया कुमार  २७ जेष्ठ वीरगन्ज । बाढी, पहिरो र अन्य प्राकृतिक विपद्‌को जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि पर्साको वीरगञ्जस्थित घडिअर्वा पोखरीमा आज विशेष अभ्यास तालिम सम्पन्न भएको छ। जिल्ला विपद् व्यवस्थापन समिति, श्रीजंग गण १३, नेपाल रेडक्रस सोसाइटी पर्सा तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त सहकार्यमा आयोजित सो तालिममा विपद्‌पछिको तत्कालीन उद्धार, समन्वय तथा राहत वितरणसम्बन्धी व्यवहारिक अभ्यास गराइएको थियो। तालिमको उद्देश्य विपद्को बेला स्थानीय स्वयंसेवक, विद्यार्थी तथा सरोकारवालाहरूलाई आवश्यक सीप र तालमेलमा दक्ष बनाउनु रहेको आयोजकहरूले बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल थिए। विशिष्ट अतिथिका रूपमा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्र, रेडक्रस पर्साका अध्यक्ष बृजकिशोर पटेल, नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह, एनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले गर्नुभएको थियो।

Advertisement

तालिममा विभिन्न विद्यालयका विद्यार्थी, नेपाल स्काउट प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता थियो। उनीहरूले टोलीगत रूपमा उद्धार अभ्यासमा संलग्न भई विपद्‌को समय कसरी समन्वय गरिने भन्ने विषयमा प्रत्यक्ष अनुभव बटुले। सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार, “यो अभ्यासले विपद्‌ व्यवस्थापनमा स्थानीय तहको सक्रिय भूमिका सुनिश्चित गर्नुका साथै, जनधनको क्षति न्यून पार्ने दिशामा ठोस कदम अगाडि बढाएको छ।”स्थानीय तहको सहभागिता र सहकार्यलाई प्राथमिकतामा राखेर आयोजना गरिएको यस्तो अभ्यासले समग्र विपद् व्यवस्थापन प्रणालीलाई सशक्त बनाउने अपेक्षा लिइएको छ।

Advertisement