वीरगञ्ज, असार १६ — विद्या सदन माध्यमिक विद्यालय, वीरगञ्ज–१२ मा आज “स्टार्ट स्मार्टः आर्थिक रूपमा सुरक्षित जीवन निर्माण” शीर्षकमा आयोजित विशेष कार्यक्रम अत्यन्तै प्रेरणादायी, व्यावहारिक र सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ९ र १० का ११० जना विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न सो कार्यक्रमले वित्तीय साक्षरताको महत्वलाई गहिरो रूपमा उजागर गरेको छ।
कार्यक्रमको अध्यक्षता विद्यालयकी निर्देशक श्रीमती उमा गुरुङले गर्नुभयो। उहाँले विद्यार्थी जीवनदेखि नै बचतको बानी बसाल्दा भविष्यमा आर्थिक लाभ र आत्मनिर्भरता प्राप्त गर्न सकिने उल्लेख गर्दै, यस्ता कार्यक्रमहरू शिक्षासँगै जीवन उपयोगी सीपको विकासमा महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
Advertisement
कार्यक्रमका प्रमुख वक्ता सानिमा बैंक प्रा.लि., वीरगञ्ज शाखाका शाखा प्रबन्धक श्री राज कुमार सोडारीले आर्थिक अनुशासन, आम्दानी–खर्च व्यवस्थापन, योजनाबद्ध बचत लगायतका विषयमा जीवनसँग जोडिएका यथार्थपरक उदाहरणसहित प्रस्तुत गर्नुहुँदै विद्यार्थीहरूमा वित्तीय सोच र व्यवहारिक ज्ञानको विकासमा उल्लेखनीय योगदान गर्नुभयो।
प्रमुख अतिथि वीरगञ्ज पब्लिक कलेजका निर्देशक तथा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले यस्तो कार्यक्रम विद्यार्थीहरूका लागि अत्यावश्यक भएको बताउँदै, “यस्ता ज्ञानमूलक सत्रहरू निरन्तर सञ्चालन हुनुका साथै विद्यार्थीहरूले व्यवहारमा समेत उतार्न जरुरी छ,” भनी विचार व्यक्त गर्नुभयो। उहाँले आफ्ना प्रेरणादायी जीवन अनुभवहरू प्रस्तुत गर्दै सहभागीहरूलाई सकारात्मक सोच र आत्मविकासतर्फ प्रेरित गर्नुभयो।
Advertisement
त्यसैगरी, मानवसेवा आश्रम, वीरगञ्जका सञ्चालक श्री देवेश कुमारले जीवनमा सेवाभाव, आत्मानुशासन र नैतिक मूल्यको अभिवृद्धिको आवश्यकता औंल्याउँदै शिक्षाले कसरी जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने विषयमा प्रभावशाली मन्तव्य दिनुभयो।
कार्यक्रमको सञ्चालन कक्षा ९ का विद्यार्थी आयान अन्सारीले अत्यन्त आत्मविश्वासका साथ गर्नुभएको थियो। कार्यक्रम ज्ञानमूलक, अन्तरक्रियात्मक र उत्साहजनक रहेको सहभागीहरूको अनुभवले प्रस्ट पार्यो।
Advertisement
विद्यालयका प्रधानाध्यापक श्री लाल बहादुर गुरुङले कार्यक्रमको समापन गर्दै, “स्टार्ट स्मार्ट” जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई वित्तीय रूपले सचेत, आत्मनिर्भर र अनुशासित बन्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो




















प्रतिक्रिया