बंगलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प : ६ जनाको मृत्यु

, एजेन्सी : बंगलादेशको राजधानी ढाका नजिकै शुक्रबार बिहान भूकम्प गएको छ। अहिलेसम्म ६ जनाको मृत्यु भएको ढाकास्थित डिबिसी न्यूजले उल्लेख गरेको छ। भवनको छाना भत्किएर तीनजना र ढाकामा अर्को भवनको रेलिङ खसेर थिच्दा तीनजना पैदल यात्रीको मृत्यु भएको समाचारमा जनाइएको छ।अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ढाकाबाट करिब ४० किलोमिटर टाढा रहेको नरसिंदी शहर नजिकै स्थानीय समयानुसार बिहान १०ः३८ मा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो। बंगलादेशको मौसम विज्ञान विभागले भूकम्पको तीव्रता ५.७ रहेको र भूकम्प लगभग २६ सेकेन्डसम्म रहेको बताएको छ। एएफपी समाचार एजेन्सीले भूकम्पले ढाकाका सडकमा त्रास फैलाएको जनाएको छ।धेरै मानिस आफ्नो घर र भवनबाट बाहिर निस्केका थिए। स्वास्थ्य विभागले मृतकहरूमा एक मेडिकल विद्यार्थी पनि रहेको पुष्टि गरेको छ। भूकम्पबाट ठूलो जनधनको क्षति हुने अनुमान युएसजीएसले गरेको छ। भारतीय शहर कोलकातामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

Advertisement