उत्तर भारतभन्दा नेपालमा आँखाको गुणस्तरीय उपचार : रामवरण यादव

,वीरगञ्ज : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताएका छन्। वीरगञ्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले भारतका उत्तरी राज्यभन्दा नेपालको आँखा उपचार विशिष्टीकृत र अब्बल रहेको बताए।

Advertisement

“पञ्चायतकालपछि नेपालले आँखा उपचारमा गुणस्तरीय र प्रभावकारी सेवा दिँदै आएको छ”, प्रथम राष्ट्रपति यादवले भने, “भारतको विहार, उत्तरप्रदेश, बङ्गाललगायत राज्यका विरामी पनि गुणस्तरीय आँखाको उपचार गर्न यहाँ आउनुले यहाँको सेवा विकासबारे प्रस्ट्याउँछ। यी हाम्रा लागि सकारात्मक उपलब्धि हुन्।” उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले विरामीलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेकाले यसलाई थप सुधार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए। “चिकित्सक र स्वास्थ्यकर्मीसँग ठूलो अपेक्षा राखेर विरामी उपचार गर्न आएका हुन्छन्। त्यसैले पनि यो पेसामा संलग्न हुनेले स्तरीय सेवा दिन पछि हट्नुहुँदैन”‚ उनले भने। यादवले चिकित्सक पेसा पैसा कमाउनेभन्दा पनि मानवीय सेवाबाट प्रभावित हुनुपर्ने धारणा व्यक्त गरे। “चिकित्सा पवित्र पेसा हो, यसमा मानिसले पूर्ण विश्वास गरेका हुन्छन्”, उनले भने, “पैसा कमाउने अन्य पेसा पनि भएकाले यसलाई बदनाम नगरी मानव र समाज सेवामा केन्द्रित हुनुपर्छ।” अस्पतालका कार्यकारी निर्देशक भाइराजा श्रेष्ठले अस्पतालले नवनिर्मित अत्याधुनिक भवनबाट आँखा, नाक, कान, घाँटीलगायत उपचार सेवा दिँदै आएको जानकारी दिए। “विगत एक दशकमा यहाँबाट १३ लाखभन्दा बढी विरामीको उपचार भइसकेको छ। एक लाखभन्दा बढी विरामीको आँखाको शल्यक्रिया गरेका छौँ”, उनले भने।

आगामी दिनमा सेवा विस्तारसँगै थप गुणस्तरीय सेवा प्रवाहमा जोड दिने उनको योजना छ। अस्पतालका मेडिकल निर्देशक हरि शर्माले पैसाको अभावमा कोही पनि विरामी दृष्टिविहीन हुन नपरोस् भन्ने भावनाले उपचार गराउँदै आइरहेको बताए। आँखासम्बन्धी विशेषज्ञ चिकित्सक राधाकृष्ण कोइराला र वीरसिंह थापालाई सोही अवसरमा सम्मानित गरिएको थियो। अस्पतालका अध्यक्ष विश्वराज गौतमले अस्पतालले विरामीका लागि अत्याधुनिक सेवा दिने प्रतिबद्धता जनाए।

Advertisement