निर्यात बढे पनि मुलुकलाई छैन फाइदा

,काठमाडौँ : चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउन–मङ्सिर) मा मुलुकबाट हुने निर्यात ५८.१७ प्रतिशतले बढेर सवा खर्ब नाघेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाँच महिनामा निर्यात बढेर एक खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यो अवधिमा निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको निर्यात भएको थियो। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, निर्यातमा आएको यस्तो उछालले तथ्याङ्कमा सुधार देखाए पनि वास्तविकता भने भिन्न छ। नेपालको निर्यातमा सबैभन्दा धेरै भटमासको तेलले योगदान पुर् याएको छ। विभाग अनुसार पाँच महिनामा नेपालबाट सबैभन्दा धेरै ४६ अर्ब ५५ करोड रुपैयाँ बराबर भटमासको तेल निर्यात भएको छ तर सोही अवधिमा नेपालले ४६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको कच्चा भटमास आयात गरेको छ। मुलुकभित्र खासै उत्पादन नहुने भटमास नै नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा देखिन्छ। नेपालले अर्जेन्टिना, ब्राजिल जस्ता दक्षिण अमेरिकी मुलुकबाट कच्चा भटमासको तेल ल्याउने र यहाँ प्रशोधन गरेर भारतमा निर्यात गर्छ।

भारतमा कच्चा भटमासको तेलको भन्सार महसुलका कारण व्यापारीले नेपाललाई प्रशोधन गर्ने स्थानका रूपमा उपयोग गरिरहेका छन्। भारतसँगको व्यापार सम्झौता र साफ्टाको व्यापार सुविधा अन्तर्गत नेपालबाट न्यून भन्सारमा भारतमा निर्यातको सुविधा छ। त्यसैलाई उपयोग गर्दै भारतमा भन्सार महसुल बढ्दा नेपालमा प्रशोधन गरेर भारतमा लैजाने प्रचलन बढ्दो छ। यसअघि पाम तेलमा पनि यस्तै सुविधा व्यापारीले प्रयोग गरेका थिए। व्यापारविज्ञ रविशङ्कर सैँजूले भटमासको कच्चा पदार्थ आयात गरी प्रशोधन गरी निर्यात गर्दा तत्कालका लागि निर्यात बढे पनि दिगो नहुने बताउनुभयो। निर्यातलाई दिगो बनाउन स्वदेशमै उत्पादन भएका वस्तुको निर्यात बढ्नुपर्ने उनको भनाइ छ।

Advertisement