, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ का उम्मेदवार रामनरेश यादवलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयरका प्रत्याशी रहेका शिव पटेलसहित विभिन्न दल परित्याग गरेका नेता–कार्यकर्ताहरू जसपामा समाहित भएका हुन्। पार्टी प्रवेश गर्नेहरूमा शिव पटेल, सन्तोष पासवान, इस्लाम मियाँ, हरेराम पटेल, जंगबहादुर पासवान, नथु राउत, जलिल मियाँ, मुख्तार देवान, उमेश पटेल, आसिक अन्सारी, साम सिंह, सुरेन्द्र राम, धन सुनार साह र सोनालाल मण्डललगायत सयौं नेता तथा युवाहरू रहेका छन्।
नवप्रवेशीहरूलाई मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी तथा उम्मेदवार यादवले टीका र गम्छा लगाएर स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै नेताहरूले मधेसी समुदायको अधिकार, सामाजिक न्याय र समावेशी विकासका मुद्दालाई सशक्त रूपमा उठाउन जसपा नै उपयुक्त शक्ति भएको दाबी गरेका छन्।
उम्मेदवार यादवले पार्टी प्रवेश गर्ने सबैलाई धन्यवाद दिँदै जनताको विश्वास जित्न अझ सशक्त रूपमा अघि बढ्ने बताएका छन्। उनले निर्वाचनपछि पर्सा–१ को समग्र विकास, रोजगारी सिर्जना र सुशासनका लागि प्रतिबद्ध रहने धारणा व्यक्त गरेका छन्।
चुनावी सरगर्मी बढ्दै जाँदा विभिन्न दलबाट जसपामा भइरहेको प्रवेशले पर्सा–१ को राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ।



















प्रतिक्रिया