नव जनजागृतिको पहिलो जित

,काठमाडौं : राष्ट्रिय लिग फुटबलको उपाधि कसले जित्ने हो, अहिलेसम्म त्यसको छनक नै छैन। तर यही प्रतियोगिताको सबैभन्दा पुछारमा कुन टिम रहने हो, सम्भवतः त्यसको भने टुंगो लागेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार नव जनजागृति र काँक्रेबिहार भिड्दा त्यो त्यस्तो खेल रहने निश्चित जस्तै थियो, जसले लिगमा सहभागी १७ टिममध्ये अन्तिम स्थानमा रहने टिमको निर्णय गरेको छ।

त्यतिमात्र होइन, यो दुई त्यस्ता टिमको खेल थियो, जसले त्यसअघि एउटै जित निकाल्न सकेको थिएन। त्यही खेलमा नव जनजागृति २–१ ले विजयी रह्यो । यो जितले टोलीको ४ अंक भएको छ। नव जनजागृति ११ औं खेलमा आइपुग्दा पहिलो खुसीको जित निकाल्न सफल रह्यो।

Advertisement

संयोग कस्तो रह्यो भने जनजागृतिको खाताको ४ अंक पछिल्ला २ खेलमै प्राप्त भएको हो। यसअघि नव जनजागृतिले सातदोबाटो युवालाई बराबरीमा रोकेको थियो।

जनजागृतिका लागि सुनिल मल्लले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोलको खाता खोले। त्यसपछि, सोनाम आचार्यले ८७ औं मिनेटमा दोस्रो गोल थपे। काँक्रेबिहारका लागि उदीतनारायण चौधरीले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा एक गोल त फर्काए, तर यो सान्त्वना गोलभन्दा बढी केही पनि रहेन। यो हारले काँक्रेबिहार १ अंकमा सीमित रह्यो। अब टोलीमाथि प्रतियोगितामा जित निकाल्न असफल रहने एकमात्र टिम हुने डर हुनेछ।

Advertisement

दिनको पहिलो खेलमा श्री भगवतीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हराएको थियो। त्यसमा सीमान्त थापाले ६३ औं मिनेटमा निर्णायक गोल गरे। यो जितले श्री भगवतीको १२ खेलबाट १२ अंक भएको छ। टोलीको यो तेस्रो जित मात्रै हो। पछिल्ला दुई खेलबाट पनि भगवतीले ४ अंक बटुलेर आफ्नो स्थिति सुधारेको हो। मनाङ पनि १२ खेलबाट १२ अंकमै सीमित रह्यो।

प्रतियोगिता अन्तरगत आज दुई खेल हुनेछन्। पहिलो खेल मध्यान्ह सवा १२ बजे एन्फा मैदानमा फ्रेन्डस् क्लब र जावलाखेल युथ क्लब भिड्दा अपरान्ह ४ बजे सोही मैदानमा चर्च ब्वाइज युनाइटेड आमनेसामने हुनेछन्।

Advertisement