जनकपुरधाममा गरिँदैछ सीताराम विवाहपञ्चमी महोत्सवको तयारी, यो वर्ष भारतको अयोध्याबाट जन्ती आउने

अभिलाष गुप्ता 

जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सीताराम विवाहपञ्चमीको तयारी अन्तिम चरणमा पुगेको छ। प्रत्येक वर्ष एक हप्तासम्म मनाइने सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइने काम भइरहेको छ। प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जन्ती आउने गरेकोमा यो वर्ष पनि त्यहाँबाट जन्ती आउन लागेका हुन् ।

Advertisement

मंसिर १६ गते देखि सुरु हुने विवाहपञ्चमी महोत्सव एक सातासम्म चल्ने भएकाले यसको तयारीको लागि विभिन्न समिति उपसमितिहरु गठन गरी सबै समिति उपसमितिहरुलाई विभिन्न कामको जिम्मा दिइएको थियो।
प्राचिन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी मनाइने गरिन्छ। यहाँ विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट समेत लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन्। यसमा आउनेहरुको संख्यामा दिनानुदिन बढोत्तरी हुँदै गएको छ।

प्राचिनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ। मंसिर १६ गतेदेखि सुरु हुने सप्ताहव्यापी कार्यक्रम मंसिर २२ गते राम कलेवा गरी सम्पन्न हुन्छ।

Advertisement

एक हप्ता सम्म मनाइने सीताराम विवाहपञ्चमी मंसिर १६ गते जनकपुरधाम नगर दर्शनबाट सुरु हुन्छ। नगर दर्शन जानकी मन्दिरको प्रांगणमा मनाइन्छ। त्यस्तै दोस्रो दिन फूलवारी लिला मनाइन्छ जुन विवाह मण्डपको पार्कमा आयोजना हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दासले बताए।

Advertisement