कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा रौतहटको सुन्दरपुर गढीमाई मेला उद्घाटन

 

अभिलाष गुप्ता
बिरगंज १८ मंसिर रौतहटको गढीमाई नगरपालिका -४ सुन्दरपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१ को कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भव्य कार्यक्रमका बीच मंगलवार उदघाटन उद्घाटन गरेका छन । आजदेखि मङसिर २६ गतेसम्म लाग्ने उक्त गढीमाई मेला महोत्सवलाई उपप्रधान एवं शहरी विकास मन्त्री समेत रहेका कार्यवाहक प्रधानमन्त्री सिंहले मंगलवार आयोजित एक कार्यक्रमका बीच सुन्दरपुर गढीमाई मेलाको उद्घाटन गरेका हुन्।

Advertisement

मेलाको उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले देशको अर्थ तन्त्रलाई लयमा ल्याउने गरी काम गरिरहेको बताएका छन्। यस अघि राजनीतिक अस्थिरताका कारण बिग्रेको अर्थ तन्त्रलाई यो सरकारले व्यापक सुधार गर्न लागि परेको सिंहले बताए । देशको अर्थ तन्त्र सुधार गर्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओली सहितका मन्त्रीहरु अहिले चीन भ्रमणमा रहेको उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले देशको अर्थ तन्त्र मजबूत र चलायमान बनाउन निकै टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

विदेशी मित्र राष्ट्रहरुसंग अनुदान लिएर भएपनि सरकारले देशलाई विकसित र समृद्ध बनाउन कुनै कसर बाँकी नराखेको उनले बताए। देशलाई विकासको गतिमा अगाडि बढाउन, गरिवी र बेरोजगारी अन्त्य गर्न सरकारले विदेश राष्ट्रहरुसंग अनुदान लिने कार्यलाई पहिलो प्राथमिकता दिएको उनको भनाई थियो। बाराको गढीमाई पछिको विश्वमै प्रसिद्ध रौतहटको सुन्दरपुर स्थित लागेको दोस्रो ठूलो गढीमाई मेलाको उद्घाटन गर्न पाउँदा र गढीमाईको दर्शन गर्न पाउँदा आफू निकै खुशी र गौरवान्वित भएको उनले बताए ।

Advertisement

पाँच वर्ष पछि लागेको गढीमाई मेलाको भव्य सफलताकोसमेत शुभकामना दिए। प्रत्येक पाँच वर्षमा एक पटक लाग्ने यस गढीमाई मेला महोत्सव पाँच वर्षपछि यस वर्ष पनि लागेको छ। आजदेखि सञ्चालन भएको मेला मङसिर २६ गतेसम्म लाग्ने छ। मेलामा मङसिर २० गते दिउँसो आफ्नो प्रस्तुति दिन भारतीय भोजपुरी सुपरस्टार खेसारीलाल यादव आउँदैछन् ।

सो उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा प्रसाद यादव, मधेश प्रदेशका अर्थ मन्त्री सुनिल भन्ने जितेन्द्र कुमार यादव, प्रदेश सांसद शेख फूलबाबु, गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, माधव नारायण नगर प्रमुख मेयर बैजनाथ प्रसाद यादव, गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल कटहरिया नगर प्रमुख अजय प्रकाश,राजपुर नगर प्रमुख डा.राजिक आलम लगाएतका व्यक्तिहरूको सहभागिता रहेको थियो।

Advertisement