सुनसरी मा सरकारी नम्बरको गाडीबाट ६९० किलो गाँजा बरामद

 

 

Advertisement

अभिलाष गुप्ता
विरगंज १९ मंसिर सरकारी नम्बर प्लेट भएका दुईवटा गाडीबाट सुनसरी प्रहरीले ६९० किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले गत राति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

धरान-१३ अमरहाट भन्ने स्थानमा प्रहरीको चेकिङ छलेर भाग्ने क्रममा गाडी र चालक नियन्त्रणमा लिन ४ राउण्ड गोली फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले गाँजासहित मोरङको सुन्दर हरैंचा-११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई नियन्त्रणमा लिएको छ भने फरार भएका अर्का चालकको खोजी भइरहेको जनाएको छ।

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाँजा बोक्न प्रयोग भएका दुवै गाडीको नम्बर प्लेट भने सरकारी निकायका गाडीको नम्बरसँग मेल खाएको छ। बा १ झ ५१२७ नम्बरको नम्बर प्लेट कानून तथा न्याय मन्त्रालयको गाडीसँग मेल खाएको छ भने, बा १ झ ४६०५ नम्बर भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बरसँग मिलेको प्रहरीको भनाइ छ ।

Advertisement