अभिलाष गुप्ता
माघ १८ बिरगंज
Advertisement
बिरगंज स्थित नारायणी अस्पतालको अवस्था जिर्ण भएकोले सम्पुर्ण स्वास्थ्यकर्मीहरू द्वारा राजमार्गमा बसि आन्दोलन गर्दै।नेपालकै पुरानो अस्पतालमध्ये एक नारायणी अस्पताल अहिले गम्भीर संकटमा छ। भौतिक संरचनाको जीर्ण अवस्थाका कारण यहाँ उपचार सेवा लिन आउने बिरामीहरू र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू दुवैले सास्ती भोग्नुपरेको छ। दशकौँदेखि स्थानीय दाताहरूले बनाइदिएका पुराना भवनहरूमा सञ्चालन हुँदै आएको यो अस्पताललाई राज्यले उपेक्षा गर्दै आएको आरोप यहाँका स्वास्थ्यकर्मीहरूले लगाएका छन्।
१०० वर्षभन्दा पुरानो अस्पताल, तर अवस्था जिर्ण
वीर अस्पतालसँगै स्थापना भएको नारायणी अस्पतालको ऐतिहासिक महत्त्व छ। श्री ५ पृथ्वी वीरविक्रम शाहको आदेशअनुसार काठमाडौं उपत्यकाबाहिरका जनताका लागि बीरगञ्जमा यो अस्पताल स्थापना गरिएको थियो। त्यसयता विभिन्न कालखण्डमा नाम परिवर्तन हुँदै अहिले नारायणी अस्पतालका रूपमा परिचित यस संस्थाले मधेस प्रदेशको मुख्य रेफरल अस्पतालको रूपमा सेवा दिँदै आएको छ।
Advertisement
हाल नारायणी अस्पताल ३०० सैयासहित सञ्चालनमा छ, तर यसको भौतिक संरचना निकै जीर्ण भइसकेको छ। नेपालका अन्य केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको भए पनि नारायणी अस्पताल पुरानै कमजोर भवनमा सीमित रहनु परेको छ।
५०० सैयाको भवन निर्माण अन्योलमा
नेपाल सरकारले आर्थिक वर्ष २०७४-७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेशमा ५०० सैयाको अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। सोही योजनाअन्तर्गत नारायणी अस्पतालका लागि करिब १ अर्ब ५५ करोड रुपैयाँको अनुमानित लागतसहित टेन्डर प्रक्रिया अघि बढाइएको थियो। तर, बोलपत्र प्रक्रियामा देखिएको विवादका कारण अस्पताल भवन निर्माणको प्रक्रिया अदालतमा न्यायिक निरुपणको चरणमा पुगेको छ।
Advertisement
नयाँ भवन निर्माण नहुँदा यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले अत्यन्तै कठिन परिस्थितिमा बिरामीहरूको उपचार गर्नुपरेको छ। अस्पतालका विभिन्न भवनहरू जीर्ण भइसकेका छन्, जसले गर्दा बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरू सधैं डरभित्र बाँच्न बाध्य छन्।
भवन कहिले खस्ने हो थाहा छैन: डा. नीरज कुमार सिंह
नयाँ भवन निर्माणका लागि सरकारलाई दबाब दिन नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरूले पहिलोपटक नेपालकै पहिलो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध गर्दै सरकारलाई ध्यानाकर्षण गराएका छन्।
भवन निर्माण संयोजन समितिका अध्यक्ष डा. नीरज कुमार सिंह भन्छन्, “देशभरका केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेका छन्। तर, वीरगञ्जको नारायणी अस्पताल अझै पुरानै जीर्ण भवनमा सीमित छ।”
उनले थपे, “राज्यले न हामीलाई हेर्यो, न अस्पताललाई। भवनको अवस्था यति जिर्ण छ कि उपचार गरिरहेका बेला कुन क्षण भवन खस्छ भन्ने ठेगान छैन। यो अस्पतालमा लाखौँ जनताले भर परेका छन्। तर, सरकारले अझै ध्यान दिएको छैन।”
नारायणी अस्पतालले बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाका साथै छिमेकी भारतका समेत गरी झन्डै ३० लाख जनसंख्यालाई सेवा दिँदै आएको छ। तर, भौतिक संरचनाको अभावले गर्दा यहाँका स्वास्थ्यकर्मीहरूले आफ्नो सम्पूर्ण क्षमता अनुसार सेवा दिन नसकेको गुनासो गरिरहेका छन्।
नेपाल सरकारको नीति अनुसार अस्पताल भवनहरू भूकम्प प्रतिरोधात्मक मापदण्डअनुसार निर्माण गर्नुपर्ने प्रावधान छ। तर, नारायणी अस्पताल आफैंले तोकेको मापदण्ड विपरीत जीर्ण भवनमा सञ्चालन भइरहेको छ। भूकम्पीय दृष्टिकोणले संवेदनशील मानिएको नेपालमा यस्तो लापरबाहीले विपद् व्यवस्थापनमा सरकारको गम्भीरता नदेखिएको स्पष्ट छ।
राजनीतिक नेतृत्वको असफलता, स्वास्थ्यकर्मी र जनतामा निराशा
यस क्षेत्रका सांसदहरूले संसदमा पटक-पटक नारायणी अस्पतालको स्तरोन्नतिको माग उठाए पनि अहिलेसम्म सम्बोधन भएको छैन। यो गम्भीर विषयमा नागरिक समाज तथा राजनीतिक दलहरूले समेत आन्दोलन नगरेकोमा यहाँका जनतासमेत निराश छन्।
डा. सिंह भन्छन् हाम्रा माग पूरा नभए हामी अझ कडा आन्दोलजन गर्न बाध्य हुनेछौं। राज्यले अब पनि बेवास्ता गरेमा स्वास्थ्यकर्मी र स्थानीय जनताले सामूहिक रूपमा ठूला आन्दोलन गर्नेछन।





















प्रतिक्रिया